सहरी स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई छैन : सुनिता डंगोल

लोकपथ
182
Shares

 काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र फोहर व्यवस्थापनमा जिम्मेवारीबाट छुट कसैलाई नभएको स्पष्ट पारेकी छन् ।

महानगरले फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिसँग सहरी सरसफाइको दिगोपना र सुधारका उपायबारे छलफल गरेको छ । छलफलका क्रममा डंगोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र घरको ढोकामा फोहर थुप्रिने स्थिति हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।

उनले भनिन्, ‘तोकिएको समय र विधिबाट फोहर संकलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । आफू जिम्मेवार नबन्ने र अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

छलफलमा निजी क्षेत्रका ध्रुवप्रसाद आचार्य र मित्र घिमिरेले महानगरपालिकाका निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूसँग स्रोतमै फोहर वर्गीकरण गर्ने, संकलन समय र विधि सुनिश्चित गर्ने, र फोहर संकलन अघि पूर्व सूचना दिने जस्ता अभ्यासका विषयमा छलफल भएको थियो ।

महानगरको वातावरण विभागका अनुसार, कामपाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्रीका लागि सात क्षेत्र निर्धारण गरी ठेक्का लगाइसकेको छ । यससँगै ‘रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल’ अवधारणा अनुसार फोहरको दिगो व्यवस्थापन प्रवर्द्धन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?