काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले नयाँ राजनीतिक संस्कारमा काम, परिणाम र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले भाषण र बहानाभन्दा ठोस काम र नतिजामा विश्वास गर्ने बताएका हुन् ।
उनले तराई–मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमा क्षेत्रमा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।
घिसिङका अनुसार मंसिर ५ गते स्थलगत निरीक्षणका क्रममा १४ वर्षसम्म पनि कमला पुल निर्माण नहुँदा स्थानीय नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपरेको, सवारीसाधनले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको पाइएको थियो ।
उनले सम्बन्धित निकायलाई ह्युम पाइप राखी अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिइएको र सो निर्देशन कार्यान्वयनमा समेत आएको बताएका छन् । ‘निर्देशन मात्र होइन, कार्यान्वयन नै गरियो, ‘उनले लेखेका छन् ।
अध्यक्ष घिसिङले यस्ता कार्यले जनताको दैनिक जीवनमा प्रत्यक्ष राहत पुर्याउने र यही नै नयाँ राजनीतिक संस्कारको आधार भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया