स्थानीय जनताका बिचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : गगन थापा

लोकपथ
105
Shares
फाइल तस्बिर

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले निर्वाचित भएपछि मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने गरी सांसद सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेस प्रदेशअन्तर्गत सर्लाही–४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सक्रिय रहेका थापाले आज धनकौलमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय नागरिकसँग सिधै जोडिएर विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा काम गर्ने बताए ।

थापाले आफूलाई जनताले खोज्न अब काठमाडौं धाउन नपर्ने उल्लेख गर्दै सम्पर्क कार्यालय यहीँ रहने स्पष्ट पारे । उनले पहाड र सहरको अनुभवपछि मधेस बुझ्न उम्मेदवारीसहित आएको बताउँदै आफ्नो ज्ञान र अनुभवको अधिकतम उपयोग गरी स्थानीय समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए । साथै, आफू नेता नभई सर्लाहीवासीको छोरा भएर काम गर्ने धारणा व्यक्त गरे ।

निर्वाचन क्षेत्रका भेटघाट र छलफलबाट प्राप्त सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउँदै थापाले सर्लाहीवासीको अनुरोधपछि यहाँ आएको र जनताको माया पाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं.४ अन्तर्गत प्रदेशसभा ‘ख’ का उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं.१ का वडाध्यक्ष सुजित महतो, वडा नं. २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं. ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं. ११ का वडाध्यक्ष विश्वनाथ पण्डितलगायत विभिन्न दलका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

थापा माघ १६ गते शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?