ऊर्जा क्षेत्रलाई आत्मनिर्भर बनायौँ, अब देश बनाउने पालो : कुलमान घिसिङ

लोकपथ
91
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घर घरमा रोजगारी सिर्जना गर्नु पार्टीको मुख्य प्रतिबद्धता रहेको बताए ।

उनले कृषि, खानेपानी र रोजगारीको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष घिसिङले हाल नेपाल परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल भए पनि अन्य क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए । कृषिमा अत्यधिक आयातमा निर्भर हुनुपरेको अवस्थाले देशको आर्थिक संरचना कमजोर बनेको उनको भनाइ थियो ।

समग्र विकासका लागि स्पष्ट रोडम्यापसहित पार्टीको घोषणा पत्र छिट्टै सार्वजनिक गरिने जानकारी दिँदै उनले भने,‘नेपालको ऊर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रूपमा स्थापित भएको छ । अब हरेक घरमा रोजगारी सिर्जना हुनुपर्छ, हरेक व्यक्ति सम्पन्न हुनुपर्छ र देश आत्मनिर्भर बन्नुपर्छ । आज ऊर्जा बाहेकका अधिकांश क्षेत्रमा हामी आत्मनिर्भर हुन सकेका छैनौँ ।’

उनले देशभित्रै रोजगारी सिर्जना गरी नागरिकको जीवनस्तर सुधार्ने लक्ष्यसहित उज्यालो नेपाल पार्टी अघि बढेको बताए ।

कार्यक्रममा अध्यक्ष घिसिङले यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायतका सेवा क्रमशः निःशुल्क बनाउने दीर्घकालीन भिजन आफूहरूसँग रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?