निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न उम्मेदवारलाई कांग्रेसको निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना देशभरका सबै उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताको परिपालना गर्न निर्देशन दिएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले आचारसंहिता पालना गर्न निर्देशन दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले आयोगको आचारसंहिता पूर्ण पालना गर्न र आन्तरिक आचारसंहिता निर्माण गरी मातहतका समितिहरुलाई निर्देशन दिएको बताए ।

‘निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रुपमा पालना गरिनेछ । गलत संस्कृतिको विकास नहोस् र प्रतिष्पर्धा मर्यादित रहोस् भन्ने उदेश्यले पार्टीले आन्तरिक रुपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरुलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ,’ प्रवक्ता चालिसेले भने ।

त्यसैगरी प्रचारका क्रममा पार्टीको नीति योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने तर अन्य उम्मेदवारहरुको बारेमा टिकाटिप्पणी नगर्ने नीति लिएको समेत बताइएको छ ।

‘प्रचारका दौरानमा पार्टीका नीति, योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । (व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने ।),’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?