रास्वपालक्षित प्रचण्डको कटाक्ष– ‘घण्टी बजाएर केही हुँदैन, स्टन्ट गरेर देश बन्दैन’

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा ‘स्टन्ट’ गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो जिकिर गरेका हुन् ।

उनले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्ट गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए ।

उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।

उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । र बाँकि रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’

संयोजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?