स्वास्थ्य बीमा प्रभावकारी बनाउन तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

लोकपथ
56
Shares

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले संघीय सरकारको मात्र बजेटले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अपुग हुने भएकाले प्रदेश सरकार र स्थानीय तहले पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताइन् । हाल थुप्रै अस्पतालले स्वास्थ्य बीमाको भुक्तानी नपाएको गुनासो आइरहेको उल्लेख गर्दै उनले बजेट अभावकै कारण समयमा भुक्तानी दिन नसकिएको स्पष्ट पारिन् ।

उनका अनुसार अर्थ मन्त्रालयसँग माग गर्दा बजेट नभएको जवाफ आएपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको छ । मन्त्री गौतमले विभिन्न प्रदेशस्तरीय बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि रकम विनियोजन गर्न आग्रह गरिएको जानकारी दिइन् ।

स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन वर्तमान सरकारले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै उनले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन आवश्यक रहेको बताइन् । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न विभिन्न नीति तथा योजना बनाउने काम भइरहेको उनको भनाइ छ । निर्वाचन आचारसंहिता लागू भइसकेकाले कतिपय काम अघि बढाउन नसकिएको पनि उनले बताइन् ।

मन्त्री गौतमले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका युवाको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । उपचारमा कुनै समस्या नभए पनि अङ्ग प्रत्यारोपण आवश्यक पर्ने घाइतेहरूको व्यवस्थापनमा सरकार लागिरहेको उनले जानकारी दिइन् । सहिद परिवारले माग गरेका विभिन्न सेवासुविधाका विषयमा पनि सरकार छलफलमा रहेको उनको भनाइ छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गौतमले सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको बताइन् । उनले राजनीतिक दल, मतदाता र युवा पुस्तालाई पनि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले निरन्तरता दिने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका काम अघि बढाइएको उनको दाबी छ ।

सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्वास्थ्य बीमा बापतको रकम उपलब्ध गराउन माग गर्दै मागपत्र पेस गरेका थिए । उनका अनुसार अस्पतालले स्वास्थ्य बिमा बापत झन्डै तीन करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?