दक्षिण कोरियाली सामानमा ट्रम्पको कडा कदम, भन्सार शुल्क २५ प्रतिशत पुर्‍याइयो

लोकपथ
84
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानमा लाग्दै आएको भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँग भएको द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै उक्त निर्णय लिएको बताएका हुन् ।

उनका अनुसार दक्षिण कोरियाबाट आयात हुने सवारी साधन, काठ, औषधि लगायत अन्य पारस्परिक सामानमा अब २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ । यसअघि ती सामानमा १५ प्रतिशत शुल्क लागू हुँदै आएको थियो ।

राष्ट्रपति ट्रम्पले जुलाई ३०, २०२५ मा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग दुवै देशका लागि उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गर्दै उक्त सम्झौता अक्टोबर २९, २०२५ मा आफू कोरियामा रहँदा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नभएको आरोप लगाए ।

अक्टोबर २०२५ मा ट्रम्प र राष्ट्रपति लीबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट आयात हुने सामानमा १५ प्रतिशत एकमुष्ठ भन्सार शुल्क लगाउने सहमति भएको थियो, जुन ट्रम्पले यसअघि चेतावनी दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो ।

सोही सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । तर सम्झौता कार्यान्वयन नभएपछि शुल्क बढाउने निर्णय लिनुपरेको ट्रम्पको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?