महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीहरूले आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।
दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न छलफलमा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक सङ्घसंस्थाका अगुवाहरूको सहभागिता थियो ।
छलफलमा बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले आचारसंहिता परिपालनाबारे निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘कसैले एक–दुई पटक आचारसंहिता उल्लङ्घन गरेमा समस्या बढ्दै जान्छ, त्यसैले तत्काल कारबाही जरुरी छ,‘उनले भने ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्लास्थित प्रमुखहरूको सहभागिता थियो ।
मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचन अभियानका क्रममा पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कानुनी व्यवस्था र गर्नहुने तथा नहुने कार्यबारे जानकारी गराएका थिए । सहभागीहरूले कार्यक्रमले आचारसंहिताबारे स्पष्ट बुझाइ दिएको बताएका छन् ।
छलफलमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । ‘सबैले प्रतिबद्धता जनाउनु सकारात्मक पक्ष हो,‘उनले भने, ‘स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालय निरन्तर अनुगमनमा रहनेछ र उल्लङ्घनका हरेक घटना कारबाहीको दायरामा ल्याइनेछ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा यस्ता छलफल कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सोमबार निर्वाचन क्षेत्र नं. १ र ४ मा कार्यक्रम सम्पन्न गरिएको र क्षेत्र नं.२ र ३ मा मंगलबार छलफल आयोजना गरिने अधिकारीले बताए ।
आचारसंहिता उल्लङ्घन हुन नदिन सबै पक्षले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिँदै कार्यालयले कडाइका साथ अनुगमन र कारबाही गरिने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया