निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस् : महानिरीक्षक अर्याल

लोकपथ
63
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमजोरी नहुने गरी परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै आईजीपी अर्यालले आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । कमजोर कमाण्ड, लापरवाही वा गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी दिँदै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न सबैलाई आग्रह गरे ।

आईजीपी अर्यालले पदीय जिम्मेवारीमा रहँदा कुनै किसिमको बदमासी गरेमा तत्काल कारबाही गरिने स्पष्ट पारे । निर्वाचन सफल बनाउन मातहतका कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालन गर्नसमेत उनले निर्देशन दिए ।

संगठनले लिएको नीति र सोचअनुसार कार्यक्षेत्रमा खटिँदा सबै सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालित हुनुपर्ने उनको भनाइ थियो । साथै, राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरे । सीमामा खटिएका इकाइलाई गस्ती, पेट्रोलिङ तथा अन्य अपरेसनल गतिविधि अझ प्रभावकारी रूपमा सञ्चालन गर्न पनि उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?