काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश र पहाडलाई थप जोड्न सर्लाहीबाट प्रतिनिधि बन्न चाहेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा पहिलोपटक मतदाताहरुलाई सम्बोधन गर्दै सो क्षेत्रको उम्मेदवार समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
उनले मधेशमा प्रचुर सम्भावना रहेको तर उचित प्रतिनिधि नपाउँदा त्यो सम्भावनाहरु खेर गएको बताए ।
उनले मधेशी समुदायका गणित र विज्ञानका शिक्षकहरुले काठमाडौंदेखि पहाडमा पुगेर पढाएको स्मरण गराए । अबको युग सूचना प्रविधिको युग रहेको बताउँदै त्यसका लागि गणित र विज्ञान आवश्यक रहेको र तीनै शिक्षकहरुलाई थप बलशाली बनाउनुपर्ने बताए । उनले आफ्ना बुबा त्यही गणित र विज्ञानमा अब्बल भएका कारण ईन्जिनियर हुन सकेको र त्यसमा पनि मधेशका शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘कुनै बेला पहाडमा होला, काठमाडौंमा होला गणितको शिक्षक मधेशबाट नगइकन गणीत र विज्ञानको कक्षा चल्दैनथ्यो । अबको १०–१५ वर्ष नेपालको पनि ठूलो स्रोत भनेको पनि सूचना प्रविधि हो । सूचना प्रविधिको लागि केटाकेटीदेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरुलाई सप्तरीको शिक्षकले गणीत र विज्ञान पढाउनुभयो र मेरा बा इन्जिनियर बन्न सक्नुभयो,’ उनले भने ।
आफू निरन्तर निर्वाचन लडेको काठमाडौं क्षेत्र नं ४ छाडेका गगनका लागि उक्त निर्वाचन क्षेत्र नौलो हो । कतिपय दलबाट उम्मेदवार बनेकाहरुले त्यहाँका वस्तुस्थिति र नागरिकको दुखबारे उनलाई थाहा नभएको जिकिर गरिरहेका छन् । सभापति थापाले आफूलाई त्यहाँको भूगोलबाट थाहा नभएको स्वीकार गर्दै समस्याको पहिचानका लागि आफ्नो टिम खटाएको बताए ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा लामो समयदेखि आफूलाई सहयोग गरिरहेका आफ्नो टिम केही दिनदेखि निरन्तर निर्वाचन क्षेत्रमा पुगेर तथ्यांक संकलन गरिरहेको बताए ।
त्यस्तै आफू प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पार्टीले अघि सारेको स्मरण गराउँदै आफू सर्लाहीकै आफ्नो बन्न सो निर्वाचन क्षेत्र रोजेको बताए । सांसद सम्बन्धित क्षेत्रका लागि सेवक रहेको स्मरण गराउँदै उनले आफू सर्लाही–४ का मतदाताहरुको सेवाका लागि आएको समेत जिकिर गरे ।
‘आजदेखि म सर्लाही आएको छु, म आजदेखि तपाईँको भएको छु । आजदेखि यहाँका प्रत्येक नागरिक सुखमा मात्र होइन, दुखमा पनि, प्रत्येक ठाउँमा कुनै माध्यम चाहिँदैन । सांसद भनेको त्यो ठाउँको सेवक हो । तपाईँको सबैभन्दा बढी हक ममाथि लाग्छ । तपाईँले दिनरात, दुख, सुख र अप्ठ्यारोको बेलामा तपाईँले मलाई पाउनुपर्छ,’ उनले भने ।
काठमाडौंमा आफ्नो निर्वाचन क्षेत्रमा संसदको कार्यालय समेत चलाएर त्यहाँबाट आफ्ना मतदाताको गुनासो सुन्ने गरेका गगनले सर्लाहीमा समेत संसदको कार्यालय बनाउने बताए । साथै काठमाडौंमा समेत सर्लाहीका मतदाताहरुका लागि संसदको कार्यालय बनाउने र मतदाताहरुले आफ्नो गुनासो त्यहाँ राख्न पाउने व्यवस्था गर्ने समेत बताए ।
त्यति मात्र नभएर काठमाडौं–४ का मतदाताले जस्तै त्यहाँका मतदाताले समेत आफूलाई मत हालेको कुरामा शिर निहुराएर हिँडनु नपर्ने अवस्था सिर्जना आफूले गर्ने बताए ।
‘यो निर्वाचन क्षेत्रको एक जना पनि मतदाताले पनि फागुन २१ गते हुने निर्वाचनमा मैले रुख चिह्नमा, गाछी चिह्नमा मतदान गरेर गगन थापालाई प्रतिनिधि बनाएँ भनेर एकजनाले पनि शीर निहुराउने अवस्था आउँदैन,’ उनले भने ।
मतदातालाई सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रति व्यंग्य गरे । केही दिनअघि जनकपुरमा पुगेर बालेनले मैथिलीमा भाषण गरेका थिए । आफूलाई समेत त्यहाँका नेताहरुले केही शब्द त्यहीँकै भाषामा बोल्न भनेको तर आफूले पछि त्यहीँ बसेर भाषा सिक्ने र बोल्ने बताए ।
‘मलाई आज साथीहरुले ‘तपाईँले आज दुई लाइन भए पनि यहाँको भाषा सिकेर जानुपर्छ’ मैले भनेँ म त्यो चटके जस्तो काम गर्दिन्, म यहाँको भइसकेपछि म यहाँको भाषा सिक्छु । यहाँको रहनसहन सिक्छु, यहाँको पर्व, यहाँको महोत्सव सबैसँग भिज्छु । म त सिक्न आएको, म त तपाईँहरुको हुँन आएको । म एकछिन आएर हात हल्लाएर फोटो खिचाउन आएको होइन,’ उनले भने ।
यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेशले पुर्याएको योगदानबारे प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया