अमेरिकामा आजसम्मकै शक्तिशाली हिमआँधीको प्रकोप, अत्यधिक चिसोका कारण संकटकाल घोषणा 

लोकपथ
350
Shares

काठमाडौं । अमेरिकामा आइतबार आएको शक्तिशाली हिमआँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । टेक्ससदेखि न्यु इंग्ल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । 

राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहि¥याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ । आँधीका कारण यातायात क्षेत्रमा ठूलो असर परेको छ । अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने सडकहरूमा हिउँ र बरफ जमेका कारण यात्रा असुरक्षित बनेको छ । 

भर्जिनिया राज्यमा मात्रै २ सयभन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट गरिएका छन् । अमेरिकाको आधाभन्दा बढी जनसंख्या अर्थात् करिब १८ करोड मानिस यो प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । 

यसपटकको आँधीमा हिउँभन्दा बढी बरफ जम्ने समस्या देखिएको छ । यसले रूखहरू ढाल्ने र विद्युतका तारहरू चुँडाउने खतरा बढाएको छ । 

केन्टकीका गभर्नर एन्डी बेशियरले सडकहरू अत्यन्तै खतरनाक भएको र यो अवस्था अर्को सातासम्म जारी रहने बताएका छन् । सामान्यतया न्यानो हुने टेक्सस, लुजियाना र टेनेसी जस्ता राज्यहरूमा तापक्रम औसतभन्दा १५–२० डिग्री सेल्सियस तल झरेको छ, जसले गर्दा त्यहाँका बासिन्दा थप मारमा परेका छन् । 

भयंकर चिसोका कारण झन्डै आधा राज्यहरूमा संकटकाल घोषणा गरिएको छ । विद्यालयहरू बन्द गरिएका छन् भने अमेरिकी सिनेटको सोमबारका लागि तय गरिएको मतदान समेत रद्द भएको छ । 

वासिङ्टन डिसीकी मेयर मुरियल बाउजरले यसलाई एक दशककै ठूलो हिमआँधी भनेकी छन् । 

मौसमविद्हरूका अनुसार ‘पोलर भोर्टेक्स’ अर्थात् आर्किटक क्षेत्रको चिसो हावा दक्षिणतिर मोडिएका कारण यो शक्तिशाली आँधी आएको हो । विज्ञहरूले जलवायु परिवर्तनका कारण समुद्रको तापक्रममा आएको उतारचढावले पोलर भोर्टेक्सको व्यवहारमा प्रभाव पारेको हुन सक्ने बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेसँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले विभिन्न राज्यमा आवश्यक सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू परिचालन गरेको छ । न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यवासीलाई वर्षौंपछिको सबैभन्दा लामो ठन्डी र हिमपातका लागि तयार रहन आग्रह गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?