सीआईबीले खोल्यो ‘फेक रेस्क्यु’को पुरानो फाइल, केही व्यक्ति पक्राउ

लोकपथ
840
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु सम्बन्धी पुरानो फाइल खोलेको छ । सीआईबीले फेक रेस्क्युसम्बन्धी पुरानो फाइल खोलेर अनुसन्धानलाई औपचारिक रूपमा अगाडि बढाएको छ ।

सीआईबी आइतबार साँझ ५ बजे पत्रकार सम्मेलन गरी फेक रेस्क्यु सम्बन्धी अनुसन्धानलाई पुनः सुचारु गरिएको जानकारी दिन लागेको हो ।

फेक रेस्क्युमा संलग्न केही पर्यटन व्यवसायी, अस्पताल तथा वायुसेवा कम्पनी र त्यसका सञ्चालकहरूसमेत अनुसन्धानमा तानिएका छन् । सीआईबीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

सात वर्षअघि पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको समितिले छानबिन गर्दा पर्यटकलाई उद्धारका नाममा ठगी गरिएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सिफारिस गरेको थियो । कतिपय पर्यटकसँग नै मिलेर, केही पर्यटकलाई पखाला चल्ने औषधीसमेत खुवाएर बिरामी बनाई फेक रेस्क्युसमेत गरिएको आरोप लागेको थियो ।

उक्त फेक रेस्क्युमा ट्राभल तथा ट्रेकिङ एजेन्सी, वायुसेवा कम्पनी र अस्पतालको मिलेमतो पाइएको थियो । प्रयोग नै नभएको औषधीको समेत मूल्य जोडिएको, अत्यधिक खर्च देखाइएको लगायतबाट ठगी भएपछि समितिले संलग्नहरूलाई कारबाहीका लागि सिफारिस गरेको थियो । यद्यपि राजनीतिक दबाबका कारण कारबाही हुन सकेको थिएन ।

सीआईबीमा मनोज केसीको प्रवेशसँगै केही समय अगाडिबाट ती फाइलहरू पुनः अनुसन्धानमा तानिएको थियो ।

अनुसन्धानपछि मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण रहेको भन्दै सीआईबीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।
पक्राउ परेका व्यक्ति तथा कम्पनीबारे भने सीआईबीले केही बताएको छैन ।

आइतबार साँझ ५ बजे पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?