११ औँ संस्करणको प्रधान सेनापति खुला म्याराथन हुँदै, नगदसहित आकर्षक पुरस्कार

लोकपथ
112
Shares

काठमाडौं । नेपाली सेनाको २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । 

यो प्रतियोगिता म्याराथनको ११औँ संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । 

नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । बलियो एकता, सुरक्षित राष्ट्र भन्ने राष्ट्रिय भावनासहित प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ । 

प्रतियोगिता पाँच विधामा सञ्चालन हुनेछ । ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुल्लातर्फ २५० जनाको सहभागिता रहनेछ । सेनानी गगनबहादुर महतराकाअनुसार २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ ६०० जना सहभागी हुने जानकारी दिए ।  

सेनाका कर्मचारी, अवकाशप्राप्त सैनिक तथा कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ, जसमा ८०० जनाको सहभागिता रहनेछ । 

उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गमा ४५० जना सहभागी हुनेछन् भने कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौडमा १०० जना सहभागी हुनेछन् । 

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मोटरसाइकल तथा स्कुटरजस्ता आकर्षक पुरस्कार प्रदान गरिनेछ । ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले तीन लाख, द्वितीयले दुई लाख र तृतीयले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा चौथोदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै चौथोदेखि दशौँ स्थानसम्मका धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

१० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी) तर्फ महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा ५ किलोमिटर वाकिङ्ग विधामा पनि स्थानअनुसार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नगद पुरस्कारसँगै ४२.१९५ किलोमिटर म्याराथन पुरुष विजेतालाई मोटरसाइकल, २१ किलोमिटर हाफ म्याराथन पुरुष र महिला विजेतालाई काठमाडौं महानगरपालिकाबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक समितिकाअनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक एकता प्रवर्द्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि, राष्ट्रिय सुरक्षा सन्देश प्रवाह तथा युवा पुस्ता र नेपाली सेनाबिच सकारात्मक सम्बन्ध विकास गर्नु हो । प्रतियोगिता नेपाली सेनाको सामाजिक उत्तरदायित्व र राष्ट्रनिर्माणमा सक्रिय सहभागिताको प्रतीक भएको सेनाले उल्लेख गर्‍यो ।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस म्याराथनले हरेक वर्ष नेपाली सेना र सर्वसाधारणबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको आयोजकको भनाइ छ । यस वर्ष पनि प्रतियोगिता सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले नेपाली सेनाका सम्बन्धित कार्यालय वा तोकिएका दर्ता केन्द्रमार्फत नाम दर्ता गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?