काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने मतदानका लागि सबै तयारी पूरा भएको छ ।
कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूह अन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।
बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने तय भएको आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया