काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू निर्वाचित भएमा मधेसका मुद्दालाई संघीय संसद् र सिंहदरबारमा फरक ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकाले अब मधेस र सर्लाहीका मुद्दा राष्ट्रिय तहमा नयाँ तरिकाले प्रस्तुत हुने दाबी गरे ।
उनले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने स्पष्ट प्रतिबद्धता जनाउँदै आगामी पाँच वर्षमा मधेसका विषय संसदमा उठ्ने शैली र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने बताए ।
पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने उल्लेख गर्दै थापाले आफूलाई मतदाताले पूर्ण रूपमा विश्वास गर्न सक्ने वातावरण बनाउने दाबी गरे । ‘एक जनाले पनि रुख चिन्हमा मतदान गरेर गल्ती गरेँ भन्ने महसुस गर्न नपरोस्, त्यो जिम्मेवारी मेरो हो,‘उनले भने ।
थापाले मधेसका विषय अघिल्ला वर्षमा पनि उठेको स्वीकार गर्दै अब त्यसलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने बताए । उनले पार्टीका नेता–कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न चेतावनी दिए ।
‘चुनाव जित्न सबैको मेहनत चाहिन्छ,उनले भने, ‘मतदाता र कार्यकर्तासँग विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्नुपर्छ ।’
थापाले आफू गर्नसक्ने कामको मात्र वाचा गर्ने स्पष्ट पार्दै गर्न नसकिने विषय सुरुमै असम्भव भनेर बताउने बताए । चुनावपछि पनि मतदाताले आफूलाई सहजै भेट्न सक्ने वातावरण रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया