काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानित गर्ने व्यवहार गरिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा आफूविरुद्ध गरिएको व्यवहार ‘माथिबाट आदेश आएको’ भन्दै गरिएको गुनासो गरे । विमानस्थलमा गरिएको चेकिङ र व्यवहारले आफू सभ्य समाजमा नभएको जस्तो अनुभूति भएको उनले बताए ।
‘अस्ती झापा जाँदा राम्रै व्यवहार गरिएको थियो । हिजो फर्किँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर हैरान पारियो,‘उनले भने, ‘किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको छ भनियो। यसले सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न उठ्छ ।’
अध्यक्ष ओलीले यस प्रकारको व्यवहारलाई अराजनीतिक र असभ्य सरकारको उदाहरण भएको उल्लेख गर्दै सरकारमा बेथिति, अन्याय र गलत प्रवृत्ति मौलाइरहेको आरोप लगाए । ‘हामी व्यक्तिगत सम्मानका लागि होइन, देश र जनताको सम्मानका लागि लडिरहेका छौँ, ‘उनले भने ।
उनले नेताहरूमाथि नै अपमानजनक व्यवहार हुनु सरकार जिम्मेवार नभएको संकेत भएको बताउँदै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न सभ्य र सुसंस्कृत समाजतर्फ फर्कनुपर्ने धारणा राखे । त्यसका लागि आगामी निर्वाचन निर्णायक हुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले देशलाई पुनः सही दिशामा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नरहेको पनि दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया