कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको सम्झनामा भीमदत्त नगरपालिकाले मुख्य चोकलाई ‘विपिन चोक’ नामकरण गरेको छ ।
विपिनको घर जाने सडक, पूर्व–पश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको संगमस्थलमा पर्ने यस चोकमा नामकरण गरिएको हो । भीमदत्त नगरपालिकाको कार्यपालिकाको निर्णयअनुसार शुक्रबार औपचारिक कार्यक्रम गरी चोकमा विपिनको नाम लेखिएको बोर्ड राखिएको छ । नगर–३ का वडाध्यक्ष गगन धामीका अनुसार, सोही स्थानमा विपिनको सालिक निर्माणका लागि नगरपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
वडाध्यक्ष धामीले भने, ‘कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ । केही समयपछि सालिक स्थापना कार्य पूरा गरिनेछ ।’ यसअघि नगर प्रमुख पदम बोगटीले समेत विपिनको सम्झनामा सालिक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशी लगायत परिवारका सदस्य सहभागी थिए । साथै, भीमदत्त नगर कार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिस गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । उनीहरूमा परेर हमासको आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने विपिन बन्धक बनाइएका थिए । गत कात्तिकमा अमेरिकाको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि विपिनको शव हस्तान्तरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया