फागुन २१ निर्वाचन : कहाँ पुग्यो मतपत्र छपाईको काम ?

लोकपथ
21
Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

उनकाअनुसार मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उनले जानकारी दिए ।

समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूचि प्रकाशन हुनेछ बताए ।

उनले भने, ‘आज देशभर जम्मा ४९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएका छौँ । समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिन्छ । १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ । त्यसपछि मतदानको काम मात्रै बाँकी रहनेछ ।’

प्रवक्ता भट्टराईले बन्दसूची पेश भइसकेपछि बन्दसूचीमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिह्नलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको बताए ।

उनकाअनुसार देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय भएकाले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ ।

बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने बताउनु भयो । प्रत्यक्षतर्फको निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुने बताए ।

समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक फरक हुने जानकारी दिए ।

यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘बन्दसूची पेश भइसकेपछि बन्दसूचीमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिह्नलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको छ । देशभरको मतदाता संख्या १ करोड ८९ लाख हो । त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय गरेको छ ।हामीले दुई करोडमा केही बढी मतपत्र छाप्नुपर्नेछ । समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । बाँकी ५० लाख मतपत्र केही दिनमा सकिन्छ । त्यसलगत्तै आज प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुनेछ । समानुपातिकको मतपत्र देशभरको एउटै हुन्छ । प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक फरक हुन्छ । यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौँ ।’

मतदाता नामावलीको काम पनि निर्वाचन आयोगमा भइरहेको बताए । ४ प्रति मतदाता नामावली छपाई गर्नुपर्नेमा एकप्रति मतदाता नामावली छापेर सबै जिल्लामा पुर्‍याइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?