नवलपरासी–२ को कांग्रेसका आधिकारिक उम्मेदवार कँडेल नै, सभापति गगन थापाले लेखे आयोगलाई पत्र

लोकपथ
371
Shares

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल नै भएको स्पष्ट पारेको छ । 

कांग्रेस सभापति गगन थापाले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको बताएका हुन् । 

सो क्षेत्रमा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गरेकामा यसअघि भीमबहादुर थापा ‘भरत’को उम्मेदवारी कायम भएको जनाइएको थियो । यहाँ पूर्व गृहराज्यमन्त्री कँडेल र सुनवल नगरपालिकाका पूर्वमेयर थापाले उम्मेदवारी दर्ता गरेका थिए । दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिता विवाद उत्पन्न भएको थियो । थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए । दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी थापालाई आधिकारिकता दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?