लोकतान्त्रिक विकासको नयाँ अध्याय सुरु गर्दैछौँ : महामन्त्री पौडेल

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आज बस्ने बैठकले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे । महामन्त्री पौडेलका अनुसार बैठकले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागेको हो ।

उनले नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने तयारी गरेको जानकारी दिए । सो प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरिने र बैठकले निर्णय गर्ने उनले बताए ।

महामन्त्री पौडेलले यस कदमलाई लोकतान्त्रिक अभ्यासको विकासमा नयाँ अध्यायको रूपमा व्याख्या गर्दै नागरिकलाई प्रधानमन्त्री को बनाउने भन्ने विषयमा प्रत्यक्ष छनोटको अवसर विधिवत रूपमा प्रदान गर्न लागिएको बताए ।

उनका अनुसार अब संसदीय निर्वाचनमा कांग्रेसका उम्मेदवारले ‘जितेपछि को प्रधानमन्त्री बन्छ’ भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था सुरु गर्न लागिएको हो । यसले मतदातालाई उम्मेदवार विजयी भएपछि देशको नेतृत्व कसले गर्ने भन्ने विषयमा पहिले नै जानकारी हुने उनको भनाइ छ ।

‘निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रणालीतर्फ जाने संकेत हो यो,’ पौडेलले भने, ‘यो पूर्ण रूपमा लोकतान्त्रिक पद्धतिको विकास हो ।’

उनले विशेष महाधिवेशनमार्फत कांग्रेसले नेतृत्व र नीति दुवै परिवर्तन गरिसकेको उल्लेख गर्दै अब देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्तावसहित कांग्रेस अघि बढ्ने दाबी गरे ।

महामन्त्री पौडेलले सबै नेपालीको भावना प्रतिनिधित्व गर्न कांग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेदवार बनाएको जानकारी पनि दिए । साथै, केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्ने अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?