काठमाडौं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय, बेस्ट इन्टिग्रिटी र एपीएफ सम्मान ३ वटै पुरस्कार २०६४ सालमा सि सं. ७ मा भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकहरूलाई प्रदान गरेका छन् ।
सोही अवसरमा सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापालाई मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत गरिएको छ । योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन् ।
संगठनको गतिविधि छिटो छरितो र सहज ढंगले सञ्चारमाध्यममा उपलब्ध गराई प्रचारप्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेबापत सशस्त्र प्रहरी नायव उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

यसअघि उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरूको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेबापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको थियो । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथो पटक पुरस्कृत भएका हुन् ।
आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब ७ वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा सञ्चारमाध्यमसँगको समन्वयमा बढी नै दक्खल राख्छन् ।
यसैगरी २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरेका छन् । कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापित २५ हजार रुपैयाँ राशिको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणाअनुरूप यस वर्षको बेष्ट इन्टिग्रिटी अफिसर अवार्ड सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण पकली सुनसरीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको हो ।
संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी निर्वाहमा उल्लेखनीय ढंगबाट कार्यसम्पादन गरी उल्लेखनीय कार्य गर्न सफल सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ बाट पुरस्कृत गरिएको हो ।
उनी संगठनमा इमानदार अनुशासित र कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित छन् । उनले विगतमा समेत विराटनगरको रानी, सिराहाको मार्डर र पर्साको वीरगन्ज भन्सार गुल्मको कमान्ड सम्हालेर राजश्व संकलन र तस्करी नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याएका थिए ।
त्यसैगरी २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) कै अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक कोइरालालाई एपीएफ सम्मानबाट सम्मानित गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक कोइराला सशस्त्र प्रहरी बल नेपालमा विभिन्न जिम्मेवारीमा इमानदार अनुशासित र बहुआयामिक व्यक्तिको रूपमा चिनिन्छ । उनी सुरक्षा सेवाको अतिरिक्त आफ्नो कला, साहित्य, अभिनय, सिर्जना, लेखन, परिकल्पना तथा सांस्कृतिक प्रस्तुति एवं सन्देशमूलक टेलिभिजन कार्यक्रमहरू र गीत संगीत मार्फत आमजनमानसमा परिचित छन् ।
सुरक्षा सेवाजस्तो अनुशासित र चुनौतीपूर्ण पेसामा आबद्ध रहँदा पनि उनले आफ्नो कला र साहित्यलाई समेत सिर्जनात्मक ढंगले अगाडि बढाएका छन् । उनका लेखन, अवधारणा र सिर्जनाहरूले संगठनभित्र सिर्जनात्मक संस्कृतिको विकास गर्नुका साथै सार्वजनिक कार्यक्रम, राष्ट्रिय सभा समारोह तथा विशेष अवसरहरूलाई गरिमामय र सन्देशमूलक बनाउने कार्य समेत गरेको छ । सशस्त्र प्रहरी बलमा गर्बिलो पुरस्कारको रूपमा लिइने एपीएफ सम्मान यस अघि २ जना अधिकृतलाई प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया