काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको प्रचारका लागि राष्ट्रिय झण्डाको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएका छन् ।
फागुन २१ को निर्वाचनको सन्दर्भमा विभिन्न दलका नेता कार्यकर्ताहरुले दलको झण्डासहित राष्ट्रिय झण्डाको समेत प्रयोग गरिरहेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले निर्वाचन विशेषमा दलको झण्डासहित देशको झण्डा प्रयोग गर्नु झण्डाको दुरुपयोग मात्र नभएर अपमान समेत रहेको बताए ।
‘कुनै पनि दलीय प्रतिस्पर्धा ,दलीय आमसभा वा आम निर्वाचनमा उम्मेदवारले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गर्नु सर्बथा गलत हो । राष्ट्रिय झण्डा देशको सार्वभौमसत्ता, एकता र सम्पूर्ण नेपाली जनताको साझा सम्मान र पहिचानको प्रतीक हो,’ उनले भनेका छन्, ‘यसलाई कुनै एक उम्मेदवार वा राजनीतिक दलले आफ्नो प्रचारका लागि प्रयोग गर्नु राष्ट्रिय प्रतीकको दुरुपयोग मात्र होइन अपमान पनि हो। निर्वाचनको समयमा राष्ट्रिय झण्डा प्रयोग गर्दा मतदाताको राष्ट्रिय भावना उक्साएर अनुचित लाभ लिन खोजिएको अर्थ लाग्न सक्छ, जसले निष्पक्ष निर्वाचन प्रक्रियामा असर पुर्याउँछ। साथै, राष्ट्रिय झण्डाको गरिमा घट्ने, विवादमा मुछिने र दुरुपयोग बढाउन सक्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न उम्मेदवारहरूले दलको झण्डा र चिन्ह मात्र प्रयोग गर्नुपर्छ, राष्ट्रिय झण्डालाई राजनीति भन्दा माथि राख्नुपर्छ ।’
भारत बंगलादेश लगायतका सार्क राष्ट्रहरुसहित अधिकांश लोकतान्त्रिक मुलुकमा राष्ट्रिय झण्डालाई दलीय प्रचारबाट अलग राख्ने कानुन रहेको भन्दै नेपालले समेत सोही मूल्यमान्यता अवलम्बन गर्नुपर्ने उनले बताए ।
‘यस्तो कार्य कानुनी र नैतिक दुवै हिसाबले अनुचित हुन्छ । भारत, बङ्लदेश,पाकिस्तान र श्रीलंका जस्ता सार्क देश हरु मात्र होइन विश्वका अधिकांश लोकतान्त्रिक मुलुकमा राष्ट्रिय झन्डा राज्यको साझा पहिचान भएकाले त्यसलाई दल, उम्मेदवार वा चुनावी प्रचारबाट अलग राख्ने नीति अपनाइएको छ । यसले निर्वाचनको निष्पक्षता, तटस्थता र विश्वसनीयता जोगाउँछ भन्ने मान्यता राखेको छ । तसर्थ निर्वाचन आयोग ले हाल भइ रहेका यसता कार्य लाई तत्काल निशेध आग्या जारी गरि बन्द गर्नु अनिवार्य आबस्यकता छ,’ उनले भनेका छन् ।
निर्वाचनको प्रचारका लागि दल विशेषको झण्डासहित नेपालको झण्डा समेत प्रयोग भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया