राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

लोकपथ
28
Shares

काठमाडौं ।  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो २५ वर्षे गौरवपूर्ण यात्रा पूरा गरेको छ । विसं २०५७ माघ ९ गते तत्कालीन विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गर्न र जनताको जीवन, धन तथा स्वतन्त्रताको रक्षा गर्न सशस्त्र प्रहरी बलको स्थापना भएको थियो ।

तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावअनुसार राजा वीरेन्द्र शाहले जारी गरेको ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ बमोजिम बलको गठन गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोह आयोजना गरिएको थियो । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो ।

स्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले पनि साहसिक निधन भोगेका थिए ।

सशस्त्र प्रहरी बललाई स्थापना तत्कालीन सरकारले १३ वटा महत्त्वपूर्ण कार्यादेश दिएको थियो। त्यसपछि विभिन्न समयमा राजस्व, भन्सार, औद्योगिक तथा रेल्वे सुरक्षा जस्ता जिम्मेवारी दिइएको थियो ।

सह प्रवक्ता एवं नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले राज्यप्रदत्त कार्यादेश प्रभावकारी रूपमा पूरा गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष ध्यान दिएको छ । हाल सशस्त्र प्रहरी सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा एक भरोसायोग्य सङ्गठनको रूपमा स्थापित भएको छ ।

विसं २०६१ मङ्सिर १ गतेदेखि प्रमुख भन्सार नाकाहरूमा सुरक्षा जिम्मेवारी दिइएको थियो भने २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई सुम्पिएको छ। हाल सात वटा रिजर्भ गण, ४५ सीमा सुरक्षा कार्यालय र २१५ बीओपीमार्फत सीमाको सुरक्षा र राजस्व सङ्कलनमा सहयोग पुर्‍याउँदै आएको छ ।

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा सरसफाइ, विकास, स्वास्थ्य शिविर, सचेतनामूलक कक्षा र स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा पनि दक्ष जनशक्ति उत्पादन गर्दै आफूलाई अब्बल सुरक्षा फौजको रूपमा स्थापित गरेको छ। यसका लागि चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र मनाङ पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?