बंगलादेश टी–२० विश्वकप खेल्न भारतमा नजाने

लोकपथ
154
Shares

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड बिसिबीले आइसीसी टी–२० विश्वकप खेल्न भारत नजाने निर्णय गरेको छ ।

ढाकामा बिहीबार भएको बंगलादेशका क्रिकेटर र सरकारका खेलकुद सल्लाहकारबिचको बैठकपछि बिसिबीले भारतमा हुने टी–२० विश्वकप खेल्ने आफ्नो अडान परिवर्तन नभएको जनाएको छ ।

‘हामी श्रीलंकामा खेल्ने हाम्रो योजना लिएर आइसीसीमा फर्कनेछौँ । उनीहरूले हामीलाई २४ घण्टाको अल्टिमेटम दिएका थिए । तर विश्वव्यापी निकायले वास्तवमा त्यसो गर्न सक्दैन । आइसीसीले विश्वकप हेर्ने २० करोड मानिसहरूलाई गुमाउनेछ । यो उनीहरूको घाटा हुनेछ,’ बिसिबीका अध्यक्ष अमिनुल इस्लामले भने ।

आईसीसीले आफूहरूलाई श्रीलंकामा खेल्ने अवसर दिनेमा आशावादी रहेको इस्लामको भनाई छ । उनले बंगलादेश सरकारले विश्वकप खेल्ने भारत नजाने निर्णय गरिसकेको बताए ।

आईसीसीले बुधबार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा नखेल्ने आफ्नो निर्णय बदल्न थप एक दिन दिएको थियो ।

उक्त समयमा बंगलादेशले अडान नफेरे आईसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिने निर्णय गरिसकेको छ ।

भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ ।

विश्वकप सुरु हुन अब तीन हप्ताभन्दा कम समय बाँकी रहँदा बंगलादेश र आईसीसीबीचको यो शक्ति संघषले क्रिकेट जगतलाई नै तरंगित बनाइदिएको छ । अबको केही घण्टामा आईसीसीले बंगलादेशलाई विश्वकपबाट हटाउने औपचारिक घोषणा गर्न सक्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?