काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार (माघ ७) हालसम्मकै उच्च कीर्तिमान बनायो । बुधबार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
बिहीबार भने बुधबारको तुलनामा सुन केही सस्तिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यो बुधबारको भन्दा २ हजार ९ सय रुपैयाँ कम हो ।
चाँदीको मूल्य पनि बुधबार तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँ पुगेको थियो, यो मूल्य चाँदीको इतिहासमै सबैभन्दा बढी हो । बिहीबार भने चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएकोमा बिहीबार (माघ ८) मा ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको छ ।
गत आइतबारदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको थियो । आइतबार तोलामा ६ सय, सोमबार ४ हजार २ सय, मंगलबार २ हजार ७ सय र बुधबार एकै दिन १० हजार ४ सय रुपैयाँ वृद्धि भएको थियो । यसरी चार दिनमै सुनको मूल्य तोलामा १७ हजार ३ सय रुपैयाँ बढेर बिहीबार २ हजार ९ सय रुपैयाँ घट्दा पनि सुनले बजारमा अस्वाभाविक दबाब सिर्जना गरेको छ ।
गत पुस ७ गते सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । एक महिनामा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ, जसलाई करिब १३ प्रतिशत प्रतिफल मानिन्छ ।
व्यवसायीहरूका अनुसार यस्तो तीव्रवृद्धि सामान्य मौसमी मागका कारण मात्र नभई अन्तर्राष्ट्रिय घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ ।
सुन–चाँदीको मूल्य पछिल्ला दिनमा किन आकासिँदै छ ? यो विषयमा हामीले केही चर्चा गर्न खोजेका छौं ।
नेपालमा सुनको मूल्य निर्धारण पूर्णरूपमा अन्तर्राष्ट्रिय बजारमा आधारित हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिने गर्छ, नेपालमा सुन उत्पादन हुँदैन र सम्पूर्ण सुन आयातमै निर्भर छ ।
खासमा डलरको विकल्प खोज्दै विश्व बजार सुनतर्फ मोडिँदा त्यसको प्रभाव नेपाली बजारमा तीव्ररूपमा देखिएको हो । आयातमा पूर्णरूपमा निर्भर नेपालमा अन्तर्राष्ट्रिय बजारको सानो उछाल पनि ठूलो मूल्यवृद्धिका रूपमा प्रकट हुन्छ । हाल देखिएको मूल्यवृद्धि केवल बजारको संयोग नभई विश्व अर्थ–राजनीतिक परिवेशको प्रतिफल भएकाले यसले दीर्घकालीन आर्थिक बहससमेत जन्माएको छ ।
पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू अमेरिकी डलरको विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन् । चीन, रसिया, भारत, टर्की, ब्राजिललगायत देशका केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुनको सञ्चिति बढाएका छन् । केन्द्रीय बैंकहरू स्थायी र ठूलो खरिदकर्ता भएकाले उनीहरूको सक्रियताले विश्व बजारमा सुनको माग दीर्घकालीन रूपमा बढाएको विश्लेषक बताउँछन् ।
यही प्रवृत्तिले सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा बढ्दो अनिश्चितता र भू–राजनीतिक तनावका कारण सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेरिन थालेको हो ।
उता, विशेषगरी अमेरिकी डलरमा अत्यधिक निर्भरता घटाउने उद्देश्यले ब्रिक्स राष्ट्रहरू सुनतर्फ आकर्षित भएपछि विश्वमा सुनको मूल्य बढ्न थालेको हो । डलर र युरोमा राखिएका विदेशी मुद्रा भण्डार प्रतिबन्ध वा फ्रिज हुन सक्ने जोखिम बढेपछि भौतिक सुनलाई आर्थिक सार्वभौमिकताको आधार मानिएको छ । रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धपछि यो प्रवृत्ति अझ तीव्र भएको विश्लेषण छ ।
उच्च मुद्रास्फीति, मुद्रा अवमूल्यन र विश्वव्यापी आर्थिक अस्थिरताका बेला सुनले दीर्घकालीन मूल्य संरक्षण गर्ने भएकाले पनि केन्द्रीय बैंकहरूले सुनको हिस्सा बढाएका हुन् । साथै, ब्रिक्स राष्ट्रहरू स्थानीय मुद्रामा व्यापार र वैकल्पिक भुक्तानी प्रणाली विकासतर्फ अघि बढिरहेका सन्दर्भमा सुनलाई विश्वसनीय रिजर्भ सम्पत्तिका रूपमा लिइएको छ ।
अर्थविद्हरूका अनुसार सुन खरिदको यो रणनीतिले ब्रिक्स राष्ट्रहरूको वित्तीय सन्तुलन बलियो बनाउने मात्र होइन, बहुध्रुवीय विश्व आर्थिक प्रणालीतर्फको संकेतसमेत दिन्छ । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता सुन मूल्यवृद्धिको अर्को प्रमुख कारण हो । युक्रेन–रुस युद्ध, मध्यपूर्वमा जारी तनाव, अमेरिका–चीन व्यापार द्वन्द्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्रामक कर तथा विदेश नीतिका कारण विश्व बजार अस्थिर बनेको छ ।
यस्तो अवस्थामा लगानीकर्ताहरू जोखिमपूर्ण क्षेत्रबाट पुँजी निकालेर सुरक्षित सम्पत्ति मानिने सुन र चाँदीमा लगानी बढाउने गर्छन् । यसले माग बढाउँदा मूल्यमा थप चाप परेको छ । विश्वका धेरै देशहरू उच्च मुद्रास्फीतिको चपेटामा छन् । मुद्रास्फीति बढ्दा कागजी मुद्राको मूल्य घट्ने डरले सुनलाई सुरक्षित सम्पत्ति मानिन्छ । साथै, अमेरिकी केन्द्रीय बैंकसहित अन्य केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना देखिँदा बैंक तथा बन्डमा लगानीको आकर्षण घटेको छ । यसको सट्टा सुनतर्फ लगानी बढ्दा मूल्य थप उकासिएको छ ।
सुनको मूल्य वृद्धिले नेपाली अर्थतन्त्रमा बहुआयामिक असर पारेको छ । एकातिर, ढिक्का सुनमा लगानी गर्नेहरूले छोटो अवधिमै उल्लेख्य नाफा कमाएका छन् । तर अर्कोतर्फ, उपभोक्ता र गहना व्यवसायी दबाबमा परेका छन् । विवाह, चाडपर्व र सामाजिक समारोहका लागि गहना किन्ने क्षमता घटेको व्यवसायीहरू बताउँछन् । ‘पहिले २० तोलाको गहना किन्ने ग्राहक अहिले ५–७ तोलामै सीमित भएका छन्,’ काठमाडौंका एक सुन व्यवसायीले भने । लगातार मूल्य बढ्दा बजार कारोबार भने मन्द बन्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिरपछि अपेक्षित रूपमा बिक्री हुन नसक्दा बैंकहरूमा उल्लेख्य मात्रामा सुन स्टक बसेको थियो । पुस अफसिजन भएकाले आयात पनि कम भएको थियो । तर मूल्य आकस्मिक रूपमा बढेपछि पुनः कारोबार चहलपहल देखिए पनि उपभोक्ता सतर्क देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया