नयाँ पुराना होइन, भिजन हेरेर भोट हाल्नुपर्छ : ज्योति मगर

लोकपथ
77
Shares

काठमाडौं । कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ–पुराना दल वा अनुहारको बहसमा मात्र अल्झिन नहुने बताएकी छन् । उनले राष्ट्र, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन भएको शक्तिले जनताको समर्थन पाउनुपर्ने धारणा राखेकी हुन् ।

सामाजिक सञ्जालमार्फत विचार राख्दै मगरले नेपाललाई बाह्य शक्तिको प्रयोगस्थल बनाउन नहुनेमा जोड दिएकी छन् । पछिल्लो समय चल्दै आएको ‘पुराना असफल भए, नयाँलाई मौका दिऔँ’ भन्ने नारामाथि प्रश्न उठाउँदै उनले केवल नयाँ हुनु मात्र समाधान नभएको उल्लेख गरेकी छन् ।

नाम नलिइकनै उनले भिजन नहुने, उत्तेजना फैलाउने र भ्रम सिर्जना गर्ने राजनीतिक प्रवृत्तिप्रति चेतावनी दिएकी छन् । यस्ता गतिविधिले राष्ट्रलाई कमजोर बनाउने उनको भनाइ छ ।

मगरले नेपाल गरिब हुनसक्ने तर कहिल्यै कसैको गुलाम नभएको स्वाधीन इतिहास बोकेको देश भएको स्मरण गराएकी छन् । विदेशी प्रभाव, शक्ति केन्द्र र बाह्य एजेन्डाबाट देशलाई जोगाउनुपर्नेमा उनले जोड दिएकी छन् । साथै, गालीगलौज, भड्काव र अविवेकपूर्ण राजनीतिले देशलाई कमजोर बनाउने भन्दै त्यसबाट टाढा रहन आग्रह गरेकी छन् ।

उनको भनाइमा निर्वाचन ‘नयाँ–पुराना’ को सीमित बहसभन्दा माथि उठेर राष्ट्रवादी सोच, स्वाधीनता र विकासप्रति दृढ प्रतिबद्धता देखाउने राजनीतिक शक्तिलाई जनताले रोज्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?