निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने

लोकपथ
63
Shares

काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठुलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए  । उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरू समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ । 

कार्यकारी निर्देशक भट्टले भने,‘हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदैछौँ । चुनाव हुने निश्चित नै भयो । चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरुलाई स्टक राख्न भन्ने छौँ ।’

कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले करिब २०–२५ लाख लिटर पेट्रोल औषतमा खपत हुने गरेको छ । डिजेल ३८–४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औषतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।

चुनावका बेला बोर्डर बन्द हुने भएकोले इन्धन ढुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए ।  

कार्यकारी निर्देशक भट्टले भने,‘चुनावका बेला हामी अलि चनाखो भएर कति दिन बोर्डर बन्द हुन्छ, त्यो किसिमले हाम्रा ट्याङकरहरु, भएका भण्डारण गृहहरू पूरा भरेर राख्ने छौँ । हामीसँग भएका १७–१८ सय ट्याङकरहरु मोभिलाइज गर्नेछौँ । त्यो ट्याङकरमा पनि स्टक राखिनेछ । यसरी हामीले आपूर्ति व्यवस्थालाई सहज बनाउनेछौँ ।’ 

उनले २–४ दिन बोर्डर बन्दै भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए । कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसै साता आयल निगम निर्णयमा पुग्नेछ । 

नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हवाई इन्धन, ग्यास ल्याउने गरेको छ । हाल वितरण, डिपोहरू आयल निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्न सक्ने व्यवस्था निगमले मिलाएको कार्यकारी निर्देशक भट्टले बताए । नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीव्र पारेको छ । 

२ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई डिजेल १२ दिनलाई मात्रै धान्नसक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङकी निर्माण गरेको छ । पोखराको १० हजार केएल ट्याङकीलाई निगमले सञ्चालनमा समेत ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगंजमा रहेका ट्याङकीहरुलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ ।

अहिले डिजेल करिब १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए । 

नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीव्र समेत पारेको छ । अहिले मोतिहारी अमलेशगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । 

२०७६ मा डिजेल मात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेशगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, केरोशिन पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए । 

उनकाअनुसार अहिले डिजेल, पेट्रोल, मट्टितेल जति बेला आवश्यक पर्‍यो त्यति बेला भारतबाट ल्याउन सहज रहेको छ । भारतबाटै ट्याङकरमा इन्धन ल्याउँदा बेलाबेलामा ल्याउन कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उनको भनाइ रहेको छ । 

कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडामा समेत सस्तो पर्ने गरेको छ । ढुवानी खर्च कटौँती भएकै कारण उपभोक्तलाई प्रतिलिटर २ रुपैयाँ इन्धन सस्तो पर्न गएको छ । आगामी दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ ढुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उनको भनाइ रहेको छ ।

भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइदैछ । अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ । पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ । यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?