राजीनामा दिएर चुनावमा होमिएका ४ मन्त्रीको ‘राजनीतिक परीक्षा’

लोकपथ
546
Shares

काठमाडौं । जेनजी आन्दोलनको राप र ताप । भदौ २७ गते मध्यरात प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई मन्त्री कसलाई बनाउने भन्ने बढो फसाद परेको थियो । जेनजी आन्दोलनले गतिहीन बनेको राजनीतिलाई ट्रयाकमा त ल्याउने थियो नै, नयाँ निर्वाचन गरेर मुलुकलाई नयाँ दिशा दिन फागुन २१ को मिति तोकियो ।

प्रधानमन्त्री कार्कीले सकेसम्म विषयविज्ञ र जेनजीको भावना अनुरुपका व्यक्तिहलाई आफ्नो मन्त्रिपरिषद्मा भित्राइन् । तर दिनानुदिन देशमा चुनावको माहोल बढ्दै जाँदा गैरदलीय भनिएको सरकारका मन्त्रीहरु खुलेआम दलका झण्डामुनी पुगे । कतिपयले सामाजिक सञ्जालबाट आफूलाई दलको कित्तामा उभ्याए । गैरदलीय सरकारका मन्त्रीहरु दलीय आवरणमा देखिएपछि सरकारमाथि प्रश्न उठ्यो, अनि आशा गरेर मन्त्रालयमा भित्राएका मन्त्रीहरुलाई प्रधानमन्त्री स्वयमले निस्किएर जाउ भन्न पर्‍यो ।

सोमबार सरकारका दुई मन्त्रीले राजीनामा दिए । खेलकुद मन्त्री वब्लु गुप्ता र सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले एकैदिन राजीनामा दिएर चुनावी मैदानमा उत्रिने उद्घोष गरे ।

यता शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनअघि नै राजीनामा दिए पनि मंगलबार (आज) मात्रै राजीनामाको विषय बाहिर आयो ।

त्यसो त उर्जा जलस्रोत तथा सिँचाईसहित शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको समेत जिम्मेवारीमा रहेका कुलमान घिसिङले पुस २३ गते नै राजीनामा दिएका थिए । जेनजी आन्दोलनपछि उज्यालो नेपाल पार्टी खोलेर संरक्षक बनेका कुलमानमाथि प्रधानमन्त्री र बाहिरबाट समेत प्रश्न उठ्न थालेपछि अन्तिममा मात्रै राजीनामा दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरे पनि अन्तिम अवस्थामा सो हुन नसकेपछि अहिले कुलमान अन्य साना शक्तिहरुसँग मिलेर अघि बढेका छन् । साथै आफू काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार बनेका कुलमानले देशभर नै उम्मेदवार उठाउने घोषणा गरेका छन् ।

कुशल व्यवस्थापक रहेका कुलमानलाई काठमाडौंमा हुने दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएको जस जान्छ । नेकपा माओवादी केन्द्रले कुलमानको ब्राण्डिङ गर्दै आगामी निर्वाचनमा उनलाई मत माग्ने फेसका रुपमा अघि बढाउने तयारी गरेको थियो । तर उज्यालो नेपालको प्रणेताको उपमा पाएर थप महत्वकांक्षी बनेका कुलानलाई आफ्नो पार्टी खोल्ने लहड चल्यो, तर पार्टीमा उनी बाहेक अन्य चर्चित पात्र नहुँदा निर्वाचनमा के हुन्छ अहिल्यै भनिहाल्न सक्ने अवस्था छैन ।

यता राजीनामा दिएका महावीर पुनले भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली वैज्ञानिक समेत भनेर चिनिने पुनले धेरै समय अघि नै म्याग्दीको विकट गाउँमा इन्टरनेट पुर्‍याएर चर्चा कमाएका थिए । राष्ट्रिय आविश्कार केन्द्र खोलेर त्यसैबाट नवप्रवद्र्धनको काम गरिरहेका महावीरले एकाएक मन्त्री बन्ने अवसर पाएका थिए । आफ्नै मनमौजी स्वभावका महावीर मन्त्रालयमै खाने बस्ने व्यवस्था गरेका कारण थप चर्चामा थिए ।

सोमबार राजीनामा दिएर ललितपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने घोषणा गरेका जगदीश खरेल यसबिचमा चर्चा र विवादका पात्र बने । लामो समय पत्रकारिकता गरेका खरेल प्रश्न गर्ने खरो शैलीका कारण चर्चामा थिए । तर उनकै विषय विज्ञता रहेको सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहँदा समेत सञ्चारक्षेत्रका लागि कुनै उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना भयो ।
दोलखाका खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको समेत चर्चा थियो । यद्यपि उनले विगत जसको जस्तो पनि हुनसक्ने भन्दै आफूलाई जबरजस्त कुनै दलमा नलागेको भन्ने भान पारिरहँदा रवि–बालेनको एकतापछि भने खुलेरै समर्थनमा लागेका थिए । रास्वपासँग निरन्तर संवादमा रहेका खरेलले टिकट पक्का गरेपछि मात्रै राजीनामा बुझाएर चुनावी मैदानमा होमिएका हुन् ।

यसैगरी बब्लु गुप्ता सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव लड्दैछन् । मन्त्री हुनुअघि उनी सामाजिक अभियन्ताको रुपमा काम गरिरहेका गुप्ता जेनजी आन्दोलनपछि थप चर्चामा आए । युवापुस्ताको प्रतिनिधिका रुपमा छोटो समय मन्त्रीका रुपमा काम गर्ने अवसर पाएका गुप्ता यसबिचमा चर्चा र विवादमा भने रहिरहे । खुलेआम रास्वपामा देखिएपछि प्रधानमन्त्रीले नै उनलाई हट्न समेत आग्रह गरेकी थिइन् ।

गैरदलीय सरकारका गैर दलीय दाबी गर्ने मन्त्रीहरु । लागेका राजीनिक ट्याग समेत जबरजस्त लुकाएर जो सत्तामा थिए, कुर्सीमा थिए । जब दलीय गन्ध आउन थाल्यो तब आलोचना भएपछि मात्रै राजीनामाको तादरुकता देखाए । बाहिर हुँदा अरुलाई नैतिकताको प्रश्न उठाउने उनै पात्रहरु जब सत्तामा पुग्छन् तब सोही नैतिकताको प्रश्न उठाउने पात्र बन्दा राजनीति थप बिग्रिएको हो भन्दा फरक पर्दैन ।

दलहरुले हुँदैन हुँदैन भन्दाभन्दै हुन लागेको चुनावको आफ्नै महत्व छ । यसले केवल प्रतिनिधि मात्र चुन्दैन, देशको नयाँ मार्ग कोर्ने काम गर्छ र गर्नुपर्छ भन्ने आशा छ । चुनावको म्याण्डेट पाएको सरकारका प्रधानमन्त्रीलाई जतिजति चुनावको चटारो आयो उतिउति मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । आफैँ जिम्मेवारीले थिचिएको सरकारको आयु केवल निर्वाचनसम्म मात्र हो ।
चुनावको मुखमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएर हिँडेका ती पूर्वमन्त्रीहरुको लागि समेत यो चुनाव एउटा महत्वपूर्ण परीक्षाको घडी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?