काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाहरूको निरीक्षण गरेका छन् ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा झापाको दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो । आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा पुगेका क्षतिको अवलोकन गरेका हुन् ।
निरीक्षणका क्रममा अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । साथै, हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग मागसमेत गरे ।
जेनजी आन्दोलनपछि ओलीमाथि काठमाडौं उपत्यकाबाहिर यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो, जुन हालै मात्र फुकुवा भएको हो । प्रतिबन्ध फुकुवापछि झापा पुगेका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी गतिविधिको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया