अदालत गएकाले उम्मेदवार बन्नु नैतिकताविपरीत हुने भन्दै पूर्णबहादुर खड्काले गरे चुनाव नलड्ने घोषणा

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न फागुन २१ को निर्वाचन नलड्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार खड्काले निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले महाधिवेशनविरुद्ध आफू अदालत गएकाले अहिले उम्मेदवार बन्नु राजनीतिक मूल्यमान्यता र नैतिकताको अडानको प्रतिकूल हुने पनि बताएका छन् । 

उनले भनेका छन्, ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानविपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते  म स्वयंसमेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबीसमेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु,’ उनले भनेका छन् । 

आफू चुनाव नलड्ने निर्णयले पार्टीका साथीहरू र आम मतदाताको भावनामा हुने प्रतिकूलता र लाग्ने चोटप्रति खड्काले सबैसँग क्षमा मागेका छन् । उनले भनेका छन्, ‘अन्त्यमा पार्टीका जो साथी उम्मेदवारको रूपमा रूख चुनाव चिह्न लिएर तपाईंहरूको बीचमा आउनु हुन्छ पार्टीको सोही उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनु हुन हार्दिक अनुरोध र अपिल गर्दछु ।’

खड्काले यसअघि सुर्खेत–१ बाट जितेका थिए । 

यता, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा हुने भएको छ । यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ । 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए ।

सो रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन माग गरिएको भएपनि कानुन अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो ।

रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन् । त्यस्तै फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरिएको छ । यदि मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?