प्रकृतिप्रति कृतज्ञता र पारिवारिक पुनर्मिलनको पर्व ‘सोनाम ल्होछार’

लोकपथ
49
Shares

काठमाडौं । पहाडको काखमा फैलिएका तामाङ बस्तीहरूमा आज सामान्य दिनको भन्दा फरक चहलपहल छ । घर–आँगन सफा गरिएका छन्, ढोकामा धुपको बास्ना फैलिएको छ, गुम्बातर्फ जाने बाटोमा रङ्गीन झन्डा फर्फराइरहेका छन् । आमा–बुबा, छोरा–छोरी, नातिनातिना सबैको अनुहारमा उत्साह देखिन्छ । यो कुनै सामान्य उत्सव होइन, यो हो सोनाम ल्होछार, तामाङ समुदायले नयाँ वर्षको आरम्भका रूपमा मनाउने पहिचान र परम्पराको पर्व ।

वर्षको फेरबदलसँगै आउने यो नयाँ वर्ष तामाङ समुदायका लागि आत्मशुद्धि, कुल–स्मरण, प्रकृतिप्रति कृतज्ञता र पारिवारिक पुनर्मिलनको अवसर हो । नेपाल बहुजातीय, बहुसांस्कृतिक देश भएकाले सोनाम ल्होसार जस्ता पर्वहरूले राष्ट्रिय पहिचानलाई अझै सुदृढ बनाएका छन् ।

ल्होछार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । यी वर्षहरूलाई पशुपन्छी र जीवजन्तुको नामबाट चिनाइन्छ । मुसाबाट सुरु हुने यो चक्र गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रा वा भेडा, बाँदर, भाले, कुकुर हुँदै जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ ।

प्रत्येक वर्षले आफ्नो स्वभाव, संकेत र ऊर्जा बोकेको विश्वास गरिन्छ । यही विश्वासका आधारमा मानिसहरूले वर्षको भविष्य, स्वभाव र सम्भावनालाई बुझ्ने प्रयास गर्छन् । हरेक वर्षझैं यस वर्ष पनि घोडा वर्ग वर्षलाई स्वागत गर्ने तयारीमा तामाङ समुदाय जुटेको छ।

तामाङ समुदायलाई प्रकृति प्रेमी समुदायका रूपमा चिनिन्छ । हिमाल, पहाड, वन, खोलानाला, हावा, माटो र जीवजन्तुसँग सहअस्तित्वमा बाँच्ने दर्शन उनीहरूको संस्कारमा गहिरो रूपमा बसेको छ । सोनाम ल्होसारको अवसरमा गरिने प्रकृतिको पूजा यही दर्शनको प्रत्यक्ष उदाहरण हो । घर वरपरका डाँडा, रुख, ढुंगा, पानीका मुहानलाई पवित्र मानेर पूजा गरिन्छ । यसले मानिस र प्रकृतिबीचको सम्बन्ध केवल उपयोगको होइन, सम्मान र कृतज्ञताको हो भन्ने सन्देश दिन्छ ।

सोनाम ल्होसारको अर्को महत्वपूर्ण पक्ष कुल पूजा हो । तामाङ समुदायमा पुर्खालाई जीवनको मार्गदर्शक मानिन्छ। ल्होसारको दिन बिहानै घर सफा गरेर, धूप, दीप बालेर कुल देवताको पूजा गरिन्छ । यस अवसरमा पुर्खाको आशिर्वादले नयाँ वर्ष सुख, शान्ति र समृद्ध बनोस् भन्ने कामना गरिन्छ । आधुनिक जीवनशैलीले मानिसलाई जति नै व्यस्त बनाए पनि यो दिन पुर्खालाई सम्झनु अनिवार्य जस्तै मानिन्छ ।

यस पर्वको मानवीय र भावनात्मक पक्ष छोरी चेलीलाई बोलाएर टीका लगाइदिने परम्परामा देखिन्छ । माइतीघर आएका छोरीहरूलाई सम्मानका साथ टीका लगाइन्छ, आशिर्वाद दिइन्छ र मीठा परिकार खुवाइन्छ । यसले पारिवारिक सम्बन्धलाई बलियो बनाउनुका साथै छोरीलाई समाजको केन्द्रमा राख्ने संस्कारलाई उजागर गर्छ । आजको समाजमा लैंगिक समानताको चर्चा भइरहँदा, यो परम्पराले तामाङ समुदायको मौलिक सामाजिक चेतनालाई झल्काउँछ ।

सोनाम ल्होसार आज केवल तामाङ समुदायमा सीमित छैन । राष्ट्रिय पर्वका रूपमा मनाइने भएकाले राष्ट्र प्रमुखदेखि विभिन्न विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिने परम्परा विकास भएको छ । यसले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा सम्मान दिएको अनुभूति गराएको छ । विद्यालय, कलेज, सरकारी कार्यालयदेखि सामाजिक सञ्जालसम्म ल्होसारको चर्चा हुने गरेको छ ।

संगीत, नाच र सामूहिक आनन्द

सोनाम ल्होसारको दिन काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाइन्छ । देशका विभिन्न जिल्लाबाट आएका तामाङहरू आफ्नै परम्परागत भेषभूषामा सजिएर यहाँ भेला हुन्छन् । टुँडिखेल केवल खुला मैदान मात्र होइन, त्यो दिन तामाङ पहिचानको रंगीन मञ्च बन्छ । तामाङ सेलो गीत, दम्फु र ढोलको तालमा हुने नाचगानले दर्शकलाई स्वतः तान्छ । युवादेखि वृद्धसम्म एउटै तालमा नाच्दै गर्दा पुस्ताबीचको दूरी मेटिएको अनुभूति हुन्छ ।

तामाङ सेलो गीतमा जीवनका कथा हुन्छ–प्रेम, पीडा, श्रम, प्रकृति र आशा हो । दम्फुको तालसँगै गाइने यी गीतहरूले सामूहिक स्मृतिलाई जिवन्त राख्छन् । नाच केवल मनोरञ्जन होइन, यो समुदायको इतिहास बोल्ने माध्यम हो । टुँडिखेलमा हुने नाचगान हेर्दा, संस्कृति किताबमा होइन, मानिसको शरीर र भावनामा बाँचिरहेको देखिन्छ ।

इतिहास र पृष्ठभूमि

सोनाम ल्होसारको उत्पत्ति तिब्बती–बौद्ध संस्कृतिसँग जोडिएको मानिन्छ । तामाङ समुदायको ऐतिहासिक बसोबास हिमाली क्षेत्रसँग सम्बन्धित भएकाले बौद्ध दर्शन र स्थानीय प्रकृतिपूजाको समिश्रण यहाँ देखिन्छ। समयसँगै परम्परामा केही परिवर्तन आए पनि यसको मूल आत्मा भने यथावत् छ ।

आजको आधुनिक, डिजिटल युगमा पनि सोनाम ल्होसारको महत्व घटेको छैन, बरु नयाँ पुस्ताले यसलाई नयाँ तरिकाले मनाइरहेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना साटासाट हुन्छ, सांस्कृतिक कार्यक्रमहरू प्रत्यक्ष प्रसारण हुन्छन् । तर, यसको सार भने उही छ–नयाँ वर्षलाई स्वागत गर्ने, पुरानालाई सम्मानका साथ बिदा गर्ने ।

हरेक वर्षझैं यस वर्ष पनि घोडा वर्ग वर्षलाई स्वागत गरिएको छ । घोडालाई ऊर्जा, गति र साहसको प्रतीक मानिन्छ । यो वर्षले मानिसलाई कर्मशील बन्न, लक्ष्यतर्फ दौडिन प्रेरणा दिन्छ भन्ने विश्वास छ । यही विश्वासका साथ तामाङ समुदायले नयाँ आशा र संकल्प बोकेर सोनाम ल्होसार मनाइरहेका छन् ।

सोनाम ल्होसार एक दिनको चाड मात्र होइन, यो संस्कृति, प्रकृति र मानवताको साझा उत्सव हो । यसले मानिसलाई आफ्नो जरा सम्झाउँछ, परिवार र समाजसँग जोड्छ र प्रकृतिप्रति उत्तरदायी बनाउँछ । नेपालजस्तो विविधताले भरिएको देशमा यस्ता पर्वहरूले सहअस्तित्व र आपसी सम्मानको पाठ पढाउँछन् । सोनाम ल्होसार मनाउनु भनेको केवल नयाँ वर्ष मनाउनु होइन, जीवनलाई नयाँ दृष्टिले हेर्ने साहस जुटाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?