काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा उनले कमभन्दा कम खर्चमा स्वच्छ र प्रभावकारी निर्वाचन गरिनुपर्ने बताएका हुन् ।
छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सरकारको ध्यान पूर्ण रूपमा निर्वाचनमा केन्द्रित रहेको उल्लेख गर्दै आयोगका पदाधिकारी तथा कर्मचारी अहोरात्र खटिएकोमा प्रशंसा गरे ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू गरिने जानकारी दिँदै त्यसबारे मन्त्रिपरिषद् तथा उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने बताए ।
त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीहरूले अर्थमन्त्रीलाई निर्वाचन तयारीको अवस्थाबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया