काठमाडौं । बिहान उठ्नेबित्तिकै मोबाइल हेर्ने बानी धेरैको दिनचर्या बनेको छ । कसैले फेसबुक स्क्रोल गर्छन्, कसैले टिकटकमा भिडियो हेर्छन् त कसैले ह्वाट्सएपमा सन्देशको जवाफ दिन्छन् । ब्रेकफास्टभन्दा अगाडि नै स्क्रिन हेर्ने समाजमा हामी आइपुगेका छौँ । यही स्क्रिनको संसारलाई हामी सामाजिक सञ्जाल भन्छौँ ।
सामाजिक सञ्जाल एउटा इन्टरनेटमार्फत मानिस–मानिसलाई जोड्ने डिजिटल प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताले आफ्नो विचार, फोटो, भिडियो, समाचार र अनुभूति अरूसँग बाँड्न सक्छन् । फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स (ट्विटर), युट्युब, ह्वाट्सएप, भाइबर जस्ता प्लेटफर्महरू यसको उदाहरण हुन् । यसले मानिसहरुको भौगोलिक दूरी समेत हटाइदिएको छ । गाउँमा बसेका मानिसहरुले विदेशमा रहेका छोराछेरीसँग भिडियो कलमार्फत जोडिरहेका हुन्छन् । साथीहरू वर्षौँपछि पनि अनलाइनमै भेटिरहेका हुन्छन् । विचार र सूचना केही सेकेन्डमै संसारभर फैलन्छन् ।
यो इन्टरनेटको माध्यमबाट मानिसलाई मानिससँग, विचारलाई विचारसँग र सूचनालाई सूचनासँग जोड्ने डिजिटल संसार हो । यो देखिँदैन, छुन सकिँदैन, तर यसले हाम्रो दैनिक जीवन, सोच्ने तरिका, बोल्ने भाषा, हाँस्ने कारण र रुने समयसम्म निर्धारण गरिरहेको छ । मोबाइलको सानो पर्दामा अटाएको यो संसारले आज मानिसको मन, समय र सम्बन्धलाई गहिरोसँग छोइरहेको छ । सामाजिक सञ्जाल कुनै एउटा एप वा वेबसाइट मात्र होइन, यो अहिले एक प्रकारको जीवनशैली, संस्कार र बानी बन्दै गएको छ ।
हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यो व्यक्तिको साथीजस्तै बनेको छ । यसलाई सूचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिका रुपमा अथ्र्याउन पनि सकिन्छ ।
हाल अनलाइन सञ्चारको प्रभाव बढ्दै गएको छ तर सूचनाको विश्वसनीयता र सत्यतामाथि प्रश्न उठिरहेका छन् । सामाजिक सञ्जालले सकारात्मक उदाहरण प्रस्तुत गरेको भए पनि यसको गलत प्रयोगले समाजमा नकारात्मक परिणाम पनि देखिँदै आएको छ ।
सामाजिक सञ्जालको मुख्य उद्देश्य मानिस–मानिसबिच छिटो र सहज सञ्चार स्थापित गर्नु हो । सुरुमा यी माध्यमहरू व्यक्तिगत सम्बन्ध सुदृढ बनाउने, टाढा रहेका परिवार, साथी र समुदायलाई नजिक ल्याउने, विचार र जानकारी साटासाट गर्ने, आवाज नभकाहरुको आवाज बन्ने सोचका साथ बनाइएका थिए । विशेषगरी भौगोलिक दूरीका कारण टाढा रहेका व्यक्तिहरूलाई नजिक ल्याउने यसको मूल लक्ष्य थियो ।
पढाइ, अनुसन्धान, व्यापार, पत्रकारिता र सामाजिक अभियानलाई सहज बनाउने सपना बोकेर यसको ढोका खोलिएको थियो । संसारको कुनै कुनामा भएको घटना केही सेकेन्डमै अर्को कुनामा पुगोस् भन्ने चाहनाले यसलाई जन्म दिएको थियो । यसले आवाज नपुगेका मानिसलाई बोल्ने ठाउँ दिने, दबिएका कथालाई सतहमा ल्याउने र ज्ञानलाई सीमामुक्त बनाउने लक्ष्य राखेको थियो ।
तर, समयसँगै यो माध्यम केवल सूचना आदान–प्रदानको साधन मात्र रहेन । यसले मानिसको मनोविज्ञान, व्यवहार र सम्बन्धलाई प्रभावित गर्न थाल्यो । आज सामाजिक सञ्जालमा मानिसले आफूलाई देखाउन थालेका छन्, आफूलाई तुलना गर्न थालेका छन् र आफूलाई प्रमाणित गर्न थालेका छन् । अरूको जीवनको चम्किलो भाग हेरेर आफ्नै जीवनलाई सानो ठान्ने प्रवृत्ति पनि बढेको छ । खुशीको मापन लाइक र कमेन्टको सङख्यामा गर्न थालिएको छ । मौनता असहज लाग्न थालेको छ र एक्लोपनको डर बढेको छ, जबकि हातमा सधैँ मोबाइल छ ।
यसको प्रयोग आज अत्यन्त व्यापक छ । पढाइका नोटदेखि रोजगारी, सूचना, व्यापारको प्रचारदेखि राजनीतिक बहस, मनोरञ्जनदेखि आन्दोलनसम्म सबै कुरा सामाजिक सञ्जालमै भइरहेको छ । बिहान आँखा खुल्नेबित्तिकै मोबाइल खोलिन्छ र राति आँखा बन्द हुँदासम्म स्क्रोल रोकिन्न । मानिसको ध्यान छोटिँदै गएको छ, धैर्य घट्दै गएको छ र गहिरो सोच्ने समय हराउँदै गएको छ । छिटो प्रतिक्रिया, छिटो निर्णय र छिटो निष्कर्षको संस्कार विकसित हुँदै गएको छ ।
कतिका घाऊमा मल्हम बनेका छन्, सामाजिक सञ्जाल
सामाजिक सञ्जाल केही मानिसहरुका लागि मलम पनि बनेको छ । यसले आवाज नपाएका समुदायलाई बोल्ने स्थान दिएको छ । सानो प्रयासले ठूलो परिवर्तन सम्भव भएको छ । ज्ञान, सीप र अवसरसम्म पहुँच बढेको छ । आपतविपतमा सहयोग जुटाउन सजिलो भएको छ । समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउन नयाँ पुस्ताले साहस पाएका छन् । सिर्जनशीलता फस्टाएको छ र नयाँ सम्भावनाको ढोका खुलेको छ ।
अनलाइन सूचना र सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्त्वपूर्ण माध्यम हो । पछिल्लो लकडाउनको अवधिमा अनलाइन र सामाजिक सञ्जालले शिक्षण, छलफल र विश्वविद्यालयका कामहरू सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । सामाजिक सञ्जालले साथीभाइ र परिवारसँग सजिलै सम्पर्कमा राख्छ । यसले छिटो रुपमा समाचार र जानकारी प्राप्त गर्न मद्दत गरिरहेको छ भने व्यापार प्रवद्र्धन र ब्राण्ड बनाउन सहयोग गर्दैछ । सामाजिक अभियानहरू चलाउन सजिलो भएको छ । मनोरञ्जन र नयाँ कुराहरू सिक्न अवसर प्राप्त भएको छ ।
… तर नकारात्मकता समेत बढ्दैछ
सकारात्मक प्रयास, कार्यका बाबजुद यसका नकारात्मक असर पनि गहिरिदै छन् । गलत सूचना, अफवाह र घृणाले समाजलाई विभाजित बनाइरहेको छ । भर्चुअल संसारमा बनेको छवि वास्तविक जीवनको बोझ बन्दै गएको छ । आत्मसम्मान कमजोर हुँदै गएको छ अनि मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ । निद्रा बिग्रिएको छ, आँखामा थकान छ, मन अशान्त छ । सम्बन्धहरू सतही बन्दै गएका छन् । एउटै कोठामा बसेर पनि मानिसहरू फरक–फरक संसारमा हराइरहेका छन् ।
त्यतिमात्रै कहाँ हो र, अस्वस्थरुपमा विकास हुँदै गइरहेको अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालको धेरै प्रयोगले मानिसहरुमा मानसिक तनाव र डिप्रेसन पनि त्यत्तिकै ल्याएको छ । गलत सूचना (फेक न्यूज) फैलिएको छ भने यसबाट खतरा पनि बढ्दै आएको छ । यसले समयको क्षति मात्रै गराइरहेको छैन, मानिसहरुको ध्यानसमेत भंग गराइरहेको छ । गोपनीयता, जोखिमहरू र व्यक्तिगत जानकारीको दुरुपयोगको सम्भावना बढ्दो छ जसबाट वास्तविक जीवनका सम्बन्ध र संवादमा कमी ल्याएको छ ।
आज छिनछिनमा छोटाछोटा सूचना फैलने सामाजिक सञ्जालको माध्यम थुप्रै भएकाले सर्वसाधारणले गलत सूचना पनि पाइरहेका छन् । योसँगै सामाजिक न्यायका कतिपय मुद्दामा सर्वसाधारण स्पष्ट हुन सकिरहेका छैनन्, गम्भीर मुद्दालाई हल्का रूपमा लिएर विरोध र समर्थन गरिरहेका देखिन्छन् ।
विभिन्न राजनीतिक दल र स्वार्थ समूहले सामाजिक सञ्जाललाई गलत प्रचार र निहीत स्वार्थ पूर्तिका लागि दुरुपयोग गर्दा आम नागरिकमा गलत सूचना फैलिएको छ, जसले समाज विकासमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।
कहाँ चुक्दैछन् प्रयोगकर्ता ?
तर खतरा तब आउँछ, जब मानिसले आफ्नो अस्तित्व नै स्क्रिनमा खोज्न थाल्छन् । खुशी ‘लाइक’मा निर्भर हुने, दःुख ‘भ्यूज’मा अनि आत्मसम्मान फलोअर्समा खोज्न थालेपछि नै हो, मानिस आफैँबाट टाढा हुन थाल्छ । उसले आफ्नै आवाजभन्दा अरूको प्रतिक्रिया धेरै सुन्न थाल्छ ।
सामाजिक सञ्जालले समाजको अनुहार पनि बदलिरहेको छ । बहस छिटो हुन्छ, तर गहिरो हुँदैन, रिस चाँडै फैलिन्छ तर बुझाइ ढिलो आउँछ । सत्यभन्दा सनसनी चाँडो दौडिन्छ । एक शब्दले भीड उक्सिन्छ, अर्को शब्दले कसैको जीवन भत्किन्छ । यसैले अब जिम्मेवारी केवल प्लेटफर्मको होइन, प्रयोगकर्ताको पनि हो ।
शुरुमा फेसबुक जस्ता प्लेटफर्म विद्यार्थीहरूबीच सम्बन्ध बढाउन बनेका थिए । पछि यसले संसारभरका मानिसलाई जोड्ने रूप लियो । सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटक सबैको प्रिय बन्न पुगेको छ । जहाँ यसको प्रयोगबाट वृद्धवृद्धाले आफ्नो दिनचर्या बिताइरहेका छन् । धेरैको दिनचार्य यसमै बितिरहेको छ ।
पहिले सामाजिक सञ्जाल युवा पुस्तासँग मात्र सीमित थियो । तर आज बालबालिकादेखि वृद्धसम्म सबै यसमा जोडिएका छन् । बालबालिकाले खेल मैदानभन्दा स्क्रिनमा बढी समय बिताइरहेका छन् । उनीहरूको कल्पनाशक्ति, सामाजिक सीप र धैर्यमा असर परेको छ । वृद्धहरू पनि सामाजिक सञ्जालमा रमाइरहेका छन् । टाढा रहेका सन्तानको तस्बिर हेरेर खुशी हुने, पुराना साथी खोज्ने र समय बिताउने माध्यम बनेको छ । तर उनीहरू पनि बिस्तारै यसको लतमा फस्दै गएका छन् । समय बितेको थाहा नहुने, वास्तविक कुराकानी कम हुने र भावनात्मक निर्भरता बढ्ने अवस्था देखिन थालेको छ ।
लत भन्ने कुरा केवल पदार्थसँग मात्र सम्बन्धित हुँदैन । आदत, ध्यान र समय कब्जा गर्ने कुनै पनि कुरा लत बन्न सक्छ । सामाजिक सञ्जालले यही काम गरिरहेको छ । नोटिफिकेसनको सानो आवाजले मस्तिष्कमा उत्सुकता जगाउँछ । नयाँ कुरा छुट्ला कि भन्ने डरले मानिसलाई बारम्बार मोबाइल खोल्न बाध्य बनाउँछ । यसले वास्तविक साथि, खुसी र नियन्त्रित शक्ति हामीबाट खोस्दै लगिरहेको छ भन्ने कुरा धेरैलाई थाहा भए पनि छोड्न सक्ने साहस कम हुँदै गएको छ ।
समाजको स्वरूप पनि बदलिँदै गएको छ । संवाद छोटो भएको छ, बहस तीखो भएको छ र सहिष्णुता घटेको छ । फरक विचारलाई सुन्ने धैर्यता कम छ, आक्रोश सजिलै पोखिन्छ । डिजिटल संसारको साहसले वास्तविक जिम्मेवारीलाई ओझेलमा पारिरहेको छ । हामी बोल्न त छिटो भएका छौँ, तर सुन्न बिर्सँदै गएका छौँ ।
सामाजिक सञ्जाल नदीजस्तै हो । सही दिशामा बग्यो भने बालीनालीमा सिँचाइ गर्छ, गलत दिशामा बग्यो भने बस्ती बगाउँछ । त्यसैले प्रश्न यो होइन की सामाजिक सञ्जाल के हो ? बरु प्रश्न यो हो की हामी त्यसलाई के बनाउँदैछौँ ? जोड्ने पुल कि टुट्ने बाटो ? आवाज दिने साधन कि भीडको हतियार ?
आज पनि बिहानी पख घामको उज्यालो झ्यालबाट कोठाभित्र पस्छ । तर, त्यहाँ एउटा सानो निलो प्रकाश टल्किरहेको छ । त्यो प्रकाश कुनै बत्तीको होइन, एउटा मोबाइलकोे हो । अब मानिसले कुन उज्यालो रोज्छ, त्यसैले भोलिको कथा लेखिन्छ । यदि उसले स्क्रिनसँगै आफ्ना मानिस, सपना र मूल्य पनि सम्झन सक्यो भने सामाजिक सञ्जाल डर होइन, सम्भावना बन्न सक्छ । नत्र भने, हामी सबै आफै बनाएको संसारमा हराउनेछौं–जसमा आवाज धेरै हुन्छ, तर सुन्ने मन थोरै ।
भविष्यतर्फ हेर्दा सामाजिक सञ्जाल झन् शक्तिशाली बन्दै जाने संकेत देखिन्छ । कृत्रिम वुद्धि, भर्चुअल संसार र डेटा आधारित जीवनले यसको प्रभाव अझ गहिरो बनाउनेछ । प्रश्न यो होइन कि सामाजिक सञ्जाल रहने छ कि रहने छैन । बरु यसलाई हामी कसरी प्रयोग गर्नेछौँ ? यो हाम्रो सेवक बन्दैछ कि हामी दास बन्दैछौँ भन्ने निर्णय आज नै गर्नुपर्छ ।
सामाजिक सञ्जालको नियमनका लागि साइबर ब्यूरोको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ । अन्यथा पछिल्ला अभ्यासले सामाजिक सञ्जाल असामाजिक बन्ने जोखिम बढ्दै गएको छ । आत्मसम्मानमा ठेस पुग्ने सामग्री र गोप्य विषय सार्वजनिक हुनु ज्ञानको कमी वा अराजक मानसिकताको परिणाम हो, जसले गम्भीर सामाजिक विचलन निम्त्याउन सक्छ । सामाजिक सञ्जालको दुरुपयोग बदनामी, गालीगलौज, भ्रम फैलाउने र अश्लील सामग्रीले नयाँ पुस्तालाई दिशाहीन र दिग्भ्रमित बनाउने खतरा बढाइरहेको छ ।
सामाजिक सञ्जाल आफैँमा न राम्रो हो न खराब । यो ऐना जस्तै हो जसले हाम्रो समाज, सोच र चाहनालाई प्रतिबिम्बित गर्छ । यदि हामी सचेत भयौँ भने यसले ज्ञान, सहकार्य र करुणाको संसार बनाउन सक्छ । यदि बेवास्ता गर्यौँ भने यसले एक्लोपना, भ्रम र विभाजनको खाडल गहिर्याउन सक्छ । त्यसकारण सोच्नुपर्ने यहाँ छ कि सञ्जाल भित्रको संसार र बाहिरको जीवनबिच सन्तुलन खोज्ने, प्रविधिलाई मानवताको पक्षमा उभ्याउने र भविष्यलाई जिम्मेवार ढङ्गले आकार दिने समय भनेको यही हो । सामाजिक सञ्जाल हाम्रो हातमा छ, अब प्रश्न हाम्रो मन कहाँ छ भन्ने हो ।
सामाजिक सञ्जाललाई केवल मनोरञ्जन र निजी स्वार्थको साधन नबनाई अध्ययन, अनुसन्धान, ज्ञान विकास र राष्ट्रहितका लागि उत्पादनशील रूपमा प्रयोग गरौँ । विचार, भावना र अनुभव आदान–प्रदान, नयाँ प्रविधि र सिकाइ, जनचेतना अभिवृद्धि तथा सार्वजनिक–निजी सेवा प्रवाहमा यसको सदुपयोग गर्न सकिन्छ । भाइरल हुनु भन्दा पनि मर्यादा, शिष्टता, सामाजिक सद्भाव र साइबर सुरक्षामा सजग रहँदै सामाजिक सञ्जाललाई समाजलाई जोड्ने सकारात्मक माध्यम बनाउनु सबैको दायित्व हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया