काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टोली पुगेमा प्रत्येक खेलाडीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजना गरेको विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा डा. शर्माले उक्त घोषणा गरेका हुन् । उनले क्रिकेटसँग आफू नजिक रहेको उल्लेख गर्दै खेलाडी र उनीहरूको परिवारको उपचारको जिम्मा पनि आफूहरूले लिएको जानकारी दिए ।
उनका अनुसार, आगामी दुई वर्षका लागि क्यानसँग खेलाडी र परिवारको उपचारको सम्झौता काठमाडौं मेडिकल कलेजले गरेको छ । डा. शर्माले भने, ‘सम्झौता सकिएपछि त्यसलाई फेरि नवीकरण गरिनेछ ।’
साथै उनले निजी क्षेत्रलाई पनि समावेश गर्दै खेलाडीलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे। खेलाडीहरूले सन्यास लिए पनि आर्थिक समस्यामा नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
डा.शर्माले भने, ‘सुपर ८ सेभिङमा पर्नुभयो भने २० लाख रुपैयाँ लिएर तपाईँसँग आउनेछौँ। राज्य र सरकारले पनि खेलाडीको भविष्य सुनिश्चित गर्न पहल गर्नुपर्छ। खेलिसकेपछि रिटायरमेन्टपछि पेन्सनको व्यवस्था हुनुपर्छ ।’
आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुँदैछ। बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र अन्य पदाधिकारीहरूले टोलीलाई शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया