२ दिनभित्रै १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाउँछौँ : विश्वप्रकाश शर्मा

लोकपथ
378
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा (विशेष महाधिवेशन पक्ष) ले आफूहरुले पार्टीको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

आधिकारिकताको दाबीका लागि शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेका उपसभापति शर्माले आफूहरुले दुई दिनभित्रै सबै उम्मेदवारी टुंगो लगाउने दाबी गरे ।

‘अब माघ ६ आउनका लागि केवल ४ दिन बाँकी छ । हामीले जानकारी गराउन चाहन्छौँ । पार्टीका सभापति आदरणीय गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रैका लागि उम्मेदवारी अबको २ दिन भित्रमै टुंग्याउने गरी हाम्रो टिमले कार्य गरिरहेको छ । घोषणापत्रको टिमले कार्य गरिरहेको छ,’ उनले भने ।

यसैगरी विशेष महाधिवेशनको पक्षमा हस्ताक्षेर गरेका २९ जना महाधिवेशन प्रतिनिधिहरुले मात्रै हस्ताक्षर फिर्ता लिएको स्पष्ट पारे । निर्वाचन आयोगमा आजै छलफलका क्रममा संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर फिर्ता गरेको दाबी गरेका थिए ।

त्यसबारे स्पष्ट पार्दै उपसभापति शर्माले २९ जनाले मात्रै आफ्नो नाम फिर्ता लिएको दाबी गरे ।

‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेपछि फिर्ता गरेको संख्या जम्मा २९ मात्रै हो,’ उनले भने ।

त्यस्तै उनले आफूहरुले विशेष महाधिवेशन विधान सम्मत ढंगले गरेको दाबी गर्दै निर्वाचन आयोगले आधिकारिकता दिने गरी निर्णय गर्नेमा विश्वास रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?