निर्वाचन आयोगलाई पूर्णबहादुरको चेतावनी– ‘हाम्रो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्छौँ’

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आफूहरु देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज कांग्रेसको पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सो चेतावनी दिएका हुन् ।

उनले आफूहरुलाई आधिकारिक कांग्रेसको मान्यता नदिइएमा देशभर आन्दोलन गर्ने र त्यसकालाई तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।

पूर्णबहादुरले भनेका छन् :

निर्वाचन आयोगलाई म भन्न चाहान्छु, नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐनहरु भन्दा अलिकति तलमाथि भएर यदी निर्वाचन आयोगले षडयन्त्र प्रयोग गरेर, दबाबमा परेर, ठूलो लोकतन्त्रमाथि मडारिएको कालो बादल, संविधानमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदी निर्वाचन आयोगले नेपाली कांग्रेसको विधान विपरित अन्यथा निर्णय गर्‍यो भने नेपाली कांग्रेसले देशभरी आन्दोलन गर्नु बाहेक विकल्प हुने छैन । हामी प्रत्येक स्थानमा, वडामा गाउँगाउँमा, राजधानीमा, प्रत्येक ठाउँमा नेपाली कांग्रेस चार तारा र रुख लिएर हाम्रो उदेश्यलाई लिएर अघि बढ्न हामीलाई बाध्य नपारियोस् । हामीलाई निर्वाचन आयोगले त्यो गर्छ भन्ने लागेको होइन, आशंका, अविश्वास, बाहिर आएका चर्चाहरु, संचारमाध्यमले गरेका चर्चाहरु, यो पनि मिलाएँ, त्यो पनि मिलाएँ, भनेर अत्यन्त गलत तरिकाले गरिएका चर्चाहरुको आधारमा मैले यो भन्ने अवस्थामा पुगेको हुँ । त्यसैले हामी संयम छौँ, हामी निर्वाचनमार्फत् डिरेल भएको संविधानलाई ट्रयाकमा ल्याउन चाहन्छौँ ।

त्यसैले हामी यो फागुन २१ को निर्वाचनलाई प्रथम महत्व दिएर नेपाली कांग्रेस सबै दलहरुलाई यो बाटोमा लिएर जानका लागि सबैसँग संवाद, वार्ता अघि बढाइरहेका छौँ । र फागुन २१ को निर्वाचन सम्पन्न गरेर मुलुकको डिरेल भएको संविधानलाई फेरि लिकमा ल्याएर नेपाली जनतामा रहेको सार्वभौम सत्ता भौगोलिक अखण्डता, नेपालको स्वाभिमान र सबै कुराको रक्षा गर्नका लागि हामी नेपाली कांग्रेस दृढ भएर अगाडी बढ्छौँ । र देशभरीका पार्टीका सबै तहका नेताहरुलाई भ्रातृ, सुभेच्छुक संस्थालाई यो सबै अभियानमा अघि बढ्नका लागि कुनै पनि षडयन्त्र र हामीमाथि हुने कुनै पनि गलत निर्णयहरुकाविरुद्ध पार्टीले आह्वान गर्नेबित्तिकै तम्तयार भएर रहनका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट सबैलाई आग्रह र आह्वान गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?