गोरु जुधाई : जीवित परम्परा र रोमाञ्चक जात्रा

लोकपथ
133
Shares

काठमाडौं । माघे संक्रान्तिको दिन धादिङको मुलपानी पुग्ने जो कोहीले पहिला चाकु र घिउको स्वाद होइन, गोरु जुधाईको हुंंकार र दर्शकको चिच्याहट सुन्छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानीमा माघीलाई केवल पारिवारिक पर्वका रूपमा मात्र नभई रोमाञ्च, प्रतिस्पर्धा र पहिचानको उत्सवका रूपमा मनाइन्छ । यहाँ करिब एक दशकदेखि माघे संक्रान्तिको अवसरमा गोरु जुधाउने गरिँदै आएको छ । माघीको दिन मुलपानीमा विशेष जात्रा नै लाग्ने गर्छ, जहाँ गोरु जुधाई हेर्न धादिङसहित गोरखा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट सयौँ दर्शकहरू आउने गर्दछन् ।

प्रत्यक वर्ष करिब २० देखि २५ हल गोरु जुधाईने यो जात्रामा सहभागी हुनका लागि किसानहरू आफ्ना गोरु लिएर दुई–तीन दिन अघिदेखि नै मुलपानीमा आइपुग्छन् । विशेष गरी दसैँ तिहारमा घर फर्कन नपाएकाहरू पनि माघे संक्रान्तिमा गोरु जुधाई हेर्न गाउँ फर्कने गर्दछन् ।

गोरु जुधाईहुने दिनभन्दा अघिदेखि नै मुलपानीमा चहलपहल बढ्छ । टाढा–टाढाबाट आएका दर्शक, गोरु ल्याउने किसान र अस्थायी पसल राख्ने व्यापारीहरूको छुट्टै भीड देख्न सकिन्छ । यसले गाउँमा मेलाजात्राको माहौल सिर्जना गर्छ ।
स्थानीयहरूका अनुसार गोरु जुधाई मुलपानीको पहिचान नै बनेको छ । यो परम्परा मुलपानीमा मात्र सीमित छैन । धादिङका लाइगाउँ, धुवाकोट, मस्र्याङछाप, सुनौलाबजार, र्दाखा, मार्पक, फूलखर्क, बुढाथुम र ज्वालामुखी गाउँपालिकाको मैदीलगायत स्थानमा पनि गोरु जुधाई प्रचलित रहेको छ ।

जानकारहरूका अनुसार रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा प्रचलित गोरु जुधाउने परम्परा नेपाल र तिब्बतबिच भएको भोट सन्धि १९४९ सँग जोडिएको मानिन्छ । किम्बदन्तीअनुसार बझाङी राजा पृथ्वीबहादुर सिंहको स्वागतका लागि माघे संक्रान्तिका दिन गोरु जुधाएर यस परम्पराको थालनी गरिएको विश्वास रहँदै आएको छ ।

यहाँका किसानहरू आफू रुखो सुखो खाएर भए पनि गोरुलाई भने धान, चना, अण्डा, कोदोको खोले र मकैजस्ता पोसिला र प्रोटिनयुक्त आहार खुवाएर पाल्ने गर्छन् । त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानीका गोरु धनी किशोर अधिकारी भन्छन्, आफूले रुखो सुखो खाएर भए पनि गोरुलाई भने माघे संक्रान्तिमा जुधाउनकै लागि मीठो-मसिनो खुवाएर पालेको हुँ ।’

माघे संक्रान्तिमा हुने हार जितलाई यहाँका स्थानीयहरूले आफ्नो इज्जत र प्रतिष्ठासँग पनि जोडेर हेर्ने गर्छन् । खेतीपातीमा ट्याक्टरको प्रयोग बढ्दै गए पनि मुलपानीमा धेरै कृषक वर्षमा एक दिन गोरु जुधाउनकै लागि सौखका रूपमा गोरु पालिरहेका छन् ।

स्थानीय तह गठनपछि गोरुजात्राको प्रवर्धनमा विशेष ध्यान दिइएको स्थानीयहरूको भनाइ छ । मुलपानीमा हुने यो गोरुजात्रा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक मनोरञ्जनात्मक गन्तव्य बन्दै गएको उनीहरूको भनाइ छ ।
परम्परा, संस्कृति र रोमाञ्चलाई एकसाथ अनुभूति गराउने मुलपानीको गोरु जुधाई माघे संक्रान्तिको छुट्टै पहिचान बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?