नयाँ सोच र एजेण्डासहित गगन थापाको युग सुरु : डिला संग्रौला

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले देशको नेतृत्व अब पार्टी सभापति गगन थापाले गर्ने बताएकी छन् ।

बिहीबार गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन ललितपुरको कुपण्डोल पुगेकी संग्रौलाले सञ्चारकर्मीसँग कुरा गर्दै अबको राजनीतिक युग गगन थापाको भएको बताइन् ।

उनले देश हाँक्न नयाँ सोच, विचार र एजेण्डा आवश्यक रहेको उल्लेख गर्दै जनतामा आशा र भरोसा जगाउन सक्ने नेतृत्व गगन थापा मात्रै भएको दाबी गरिन् । जनताका अपेक्षालाई पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उनले बताइन् ।

‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । नयाँ सोच, नयाँ विचार र एजेण्डासहित आशा र भरोसा जगाउने सभापति गगन थापा हुन् । अब नयाँ युग सुरु भएको छ, ‘उनले भनिन् ।

यसैगरी सहमहामन्त्री बहादुर सिंह लामाले जेनजी आन्दोलनले नयाँ रूपान्तरणको माग गरेको उल्लेख गर्दै कांग्रेस त्यसैअनुसार अघि बढेको बताए। एउटै अनुहार देखेर जनता वाक्क भइसकेको भन्दै आगामी निर्वाचनमा सुशासन, रोजगारी सिर्जना र विगतका कमजोरी सुधारलाई मुख्य एजेण्डा बनाइने उनले बताए ।

सहमहामन्त्री उदय शमशेर राणाले कांग्रेस आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । चुनावअघि अन्यौलता सिर्जना गर्न खोजिएको आरोप अस्वीकार गर्दै उनले पार्टी नयाँ जोश र जाँगरका साथ चुनावी तयारीमा जुटेको बताए ।

उनका अनुसार निर्वाचनका लागि ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका निर्णय बैठकबाट गरिनेछ ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार ललितपुरको कुपण्डोलमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?