सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा एकै गाउँका पाँच कामदारको मृत्यु, तीन घाइते

लोकपथ
742
Shares

सुनसरी । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक माघ १ गते बिहीबार बिहान करिब साढे ५ बजेको समयमा हुलाकी राजमार्ग अन्तर्गत सोनीयाहीको घुम्तीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार ट्रक पल्टिँदा ट्रकको पछाडि लोड गरिएको मार्बलमाथि बसेका ५ जना मजदुरहरुको मृत्यु भएको हो । ट्रक पल्टिएपछि मार्बलको माथि बसेका मजदुरहरूलाई सोही मार्बलले थिचेर मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने सबै कजदुर सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का एकै बस्तीका बासिन्दा हुन् । मृत्यु हुनेहरूमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रम्हदेव गुरुङ, ५० वर्षीय टंक भन्ने टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

ट्रकमा चालकसहित जम्मा ९ जना सवार रहेको प्रहरीले जनाएको छ । अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको भागमा मार्बलमाथि पाँच जना मजदुर बसेका थिए । क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक भने फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमानमा घुम्ती सडकमा तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पल्टिएको देखिएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?