कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु :  सभापति थापा

लोकपथ
105
Shares

 काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसका सदस्यले पार्टीप्रति गर्व गर्ने अवस्था निर्माण गर्ने दृढता व्यक्त गरे ।

उनले भने, ‘जुन विश्वासका साथ तपाईँहरूले मलाई सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन । नेपाली कांग्रेसको शान कायम राख्छु । यो पार्टीमा लाग्ने सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गौरव गर्ने वातावरण बनाउँछु । नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ ।’

सभापति थापाले विशेष महाधिवेशनलाई कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमै भुईँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठुलो हस्तक्षेपका रूपमा व्याख्या गरे ।

‘भुईँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्, नागरिक हुन् । दलभित्र नागरिकले गरेको हस्तक्षेप नै यो विशेष महाधिवेशन हो,उनले भने ।

नेपाली कांग्रेस कुनै हालतमा नफुटेको स्पष्ट पार्दै थापाले वैधानिक रूपमा गरिएको विशेष महाधिवेशनबाट पार्टी फुट्यो भन्ने प्रश्न नै नउठ्ने दाबी गरे ।

यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?