काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार स्वजागरण भएको बताएकी छन् ।
बुधबार आयोजित ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रममा बोल्दै उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्र सीमित नभई व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति भएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीका अनुसार स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउनुका साथै बाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्छ । ‘स्वजागरणले अधिकार मात्र माग्ने होइन, कर्तव्यबारे पनि सचेत बनाउँछ, ‘उनले भनिन् ।
उनले नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उल्लेख गरिन्। स्वजागरण व्यक्तिगत रूपान्तरणमै सीमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी अभ्यास बन्दै गएको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित नरहने बताउँदै निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको जोड दिइन् । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिक चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनले बताइन् ।
कार्यक्रममा उनले विकास र समृद्धिका लागि सीपयुक्त तथा दक्ष जनशक्ति निर्माणमा जोड दिँदै युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया