काठमाडौं । नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुवै पक्षबीच विभिन्न विकल्पको आदानप्रदान भइरहेको छ । जसकारण पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बस्न ढिलाइ भइरहेको छ भने विशेष महाधिवेशनमा उम्मेदवार बनेकाको सूची पनि सार्वजनिक गरिएको छैन ।
सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षका नेताहरूबीच सहमतिको बाटो के के हुन सक्छ भन्नेबारे सन्देश आदानप्रदान भइरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता समेत भइसकेको अवस्थामा सहमतिको अन्तिम प्रयास स्वरूप विशेष पक्षले ८ वटा बुँदा सभापति शेरबहादुर देउवासमक्ष पठाएको छ । साथै विशेष महाधिवेशन पक्षले त्यसको जवाफसमेत कुरिरहेको छ ।
विशेष पक्षले पठाएको ८ वटा बुँदामा सभापति देउवाको बहिर्गमन र संरक्षक बनेर बस्ने, चुनावमा गठबन्धन नगर्ने, उम्मेदवार चयनका लागि सबै पक्षलाई समेटेर संसदीय बोर्ड गठन गर्ने, विशेष महाधिवेशनको स्वामित्व लिने, त्यसबाट पारित दस्ताबेजको ओनरशिप लिनेलगायतका छन् ।
चुनावमा वितरण हुने टिकटमा हस्ताक्षर परिवर्तन गर्न देउवा तयार भइसकेका छन् । ८ बुँदे विकल्पमा सकारात्मक जवाफ नआए नेतृत्व चयन गरेर अगाडि बढ्ने विशेष महाधिवेशन पक्षधरको भनाइ छ ।
यस्तै, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपामा छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया