काठमाडौं । नेकपा एमालेको समानुपातिक बन्दसूचीबाट पाँच जना उम्मेदवार बाहिरिएका छन् ।
उम्मेदवारी फिर्ता लिएपछि सूचीमा रिक्त स्थान बनेकाले निर्वाचन आयोगले ती स्थान पूर्ति गर्न नयाँ नाम पठाउन पार्टीसँग माग गरेको हाे ।
आयोगले रिक्त स्थान पूर्तिका लागि माघ २ गते कार्यालय समयभित्र नाम र आवश्यक विवरण बुझाउन समय दिएको छ । उम्मेदवारी फिर्ता लिनेमा पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावल रहेका छन् ।
सुर्खेतका बालाराम शर्मा पनि उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोग पुगेका थिए । तर, एमालेले प्रारम्भिक सूचीमै उनको नाम सच्याइसकेकाले उनले औपचारिक निवेदन दिन नपरेको जनाइएको छ ।
समानुपातिकसहित सबै उम्मेदवारी टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको एमाले स्रोतले जनाएको छ । त्यसैले रिक्त स्थानमा राखिने नयाँ उम्मेदवारको निर्णय पनि अध्यक्ष ओलीले नै गर्नेछन् ।
एमालेले रिक्त स्थान पूर्ति गर्नुपर्ने नाम र विवरण शुक्रबार निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।
यसअघि पनि समानुपातिक सूचीका दुई उम्मेदवार राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेपछि सूची रिक्त भएको थियो । झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारी राष्ट्रियसभा उम्मेदवार बनेपछि उनीहरूको नाम सूचीबाट हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया