काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले दलिय पक्षधरबाट मुक्त र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने दाबी गरेका छन् ।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले संविधान अनुसार तोकिएकै समयमा निर्वाचन अपरिहार्य भएको बताए ।
अर्यालले भने, ‘विद्रोहपछि पनि संविधान यथावत् बहाली हुनुपर्छ । संसद् विघटन भएको छ भने पनि संविधानले ६ महिनाभित्र चुनावको व्यवस्था गरेको छ । यो चुनाव दलिय पक्षधरबाट मुक्त, स्वतन्त्र व्यक्तिहरूको सरकार मार्फत हुनेछ ।’
उनले वर्तमान सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की प्रधानमन्त्री भएकाले निष्पक्षता र स्वतन्त्रताको प्रतीक भएको पनि बताए । ‘निष्पक्ष सरकारको जन्म भएको छ यसले चुनाव मात्र होइन, निष्पक्ष चुनाव पनि गराउँछ, ‘उनले भने।
गृहमन्त्री अर्यालले सुरक्षा फौजको मनोबल बढेको र नागरिक तथा सुरक्षा निकायबिच सहकार्यको वातावरण स्थापित भएको बताए । उनले आफैँले जोखिम लिएर पनि मन्त्रालयमा अनुचित हस्तक्षेप रोक्न काम गरेको दाबी गरे ।
‘यो सरकार बनेसँगै सुरक्षा फौज र नागरिकको मनोबल बढेको छ। विगतमा केही एकाध बर्दीधारीको दुरुपयोगले समग्र मनोबल खस्किन्थ्यो । हामीले निष्पक्षतालाई पहिलो आधार बनाएर यो रोक्न सफल भएका छौँ, ‘उनले भने ।
अर्यालले हालको जेनजी आन्दोलनपश्चात् संकटमा परेको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि बताए र प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया