ललितपुर–३ बाटै फेरि चुनाव लड्दै डा.तोसिमा कार्की

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर–३ बाटै आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै डा.कार्कीले आफू रास्वपामै रहेर पार्टीलाई बहुमतसहितको मूलधारको मध्यमार्गी राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्यमा निरन्तर लागिरहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘रास्वपालाई वैकल्पिक होइन, मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी बनाउन सुरुवातदेखि नै लागेकी छु । मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी हो, मलाई माया लाग्छ ।’

पार्टीलाई सुदृढ, विस्तारित, सक्षम र लोकतान्त्रिक बनाउन आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै डा. कार्कीले ६० जिल्ला तथा विदेशमा प्रवास विभाग गठनमा समेत भूमिका निर्वाह गरेको बताएकी छन् ।

‘कृपया अब फेरि विलखबन्दमा नपर्नुहोला,’ उनले आग्रह गर्दै लेखेकी छन्, ‘म डा.तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमै रहन्छु । यसैलाई फलाउँछु, फुलाउँछु र देश निर्माण गर्ने बहुमतको पार्टी बनाउँछु ।’

डा. कार्कीले ललितपुर क्षेत्र नम्बर-३ बाट उम्मेदवारीका लागि पार्टीमा औपचारिक रूपमा दावेदारी पेस गरिसकेको जानकारी पनि दिएकी छन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी ललितपुर–३ बाटै रास्वपाको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?