समानुपातिक बन्दसूचीबाट १७ चुनाव चिह्नका १७५ उम्मेदवारले लिए नामफिर्ता

लोकपथ
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नामफिर्ता लिएका छन् । 

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नामफिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन आयोगले सूचना प्रकाशित गरेको थियो ।

उक्त अवधिमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नामफिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् । 

सहायक प्रवक्ता जिसीका अनुसार नामफिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार छन् । उक्त पार्टी अन्य दलसँग चुनावी तालमेलमा रहेकाले बन्दसूचीमा पेस गरिएका ११० जना उम्मेदवारको नामफिर्ता लिएको जनाइएको छ।

यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेकपा (एमाले) का पाँच जना उम्मेदवारले नामफिर्ता लिएका आयोगले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार/चार जना उम्मेदवारले पनि नामफिर्ता लिएका छन् । यस्तै, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई/दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक/एक उम्मेदवारले बन्दसूचीबाट नामफिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक/एक जना उम्मेदवारले नामफिर्ता लिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?