सानेपाबाट कांग्रेस संस्थापनको सन्देश– ‘नेतृत्व परिवर्तन १५औँ महाधिवेशनबाट मात्रै हुन्छ’

लोकपथ
385
Shares

काठमाडौं । आन्तरिक विवादपछि संकटको घडीमा पुगेको नेपाली कांग्रेसभित्र अझै सहमतिको प्रयास जारी रहेको छ ।

त्रीपक्षीय वार्ता टोलीले सहमतिको खोजी गरिरहे पनि नेताहरुले बताए अनुसार वार्ता सकारात्मक हुन सकिरहेको छैन ।

केन्द्रीय समिति बैठक बोलाइए पनि शीर्ष नेताहरु पार्टी मुख्यालय सानेपामा सहमति खोज्ने प्रयासमा छन् । तर संस्थापन पक्षले भने भृकुटीमण्डपमा आइतबारबाट जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै आइरहेको छ । साथै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव नभएको भन्दै १५औँ महाधिवेशनबाट मात्रै नेतृत्व चयन हुने सन्देश संस्थापनले दिएको छ ।

कांग्रेसको संस्थापन पक्षीय नेता नारायणप्रकाश साउद (एनपी साउद) ले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव नभएको दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी शीर्ष नेताहरुको बैठकबाट बाहिरि निस्किएका नेता साउदले विशेष महाधिवेशनले नभई आगामी १५औँ महाधिवेशनले मात्रै नयाँ नेतृत्व परिवर्तन गर्ने दाबी गरे ।

‘नेतृत्व परिवर्तन १५औँ महाधिवेशनबाट मात्र हुन्छ, विशेष महाधिवेशनबाट होइन । यो बिचमा आन्दोलनहरु भएका छन्, नयाँ क्रियाशील सदस्यहरु बनेका छन्, कतिपय पूराना क्रियाशील सदस्यहरुले नवीकरण गर्नुभएको छ । ती सबैको नेतृत्व गर्ने र भावना समेट्ने गर्ने गरी देशभरका साथीहरुले बैशाख अन्तिम सातामा काठमाडौंमा भेला भएर महाधिवेशनबाट हामी नयाँ नेतृत्व ल्याउँछौँ,’ उनले भने ।

त्यसो त उनले आइतबारबाट भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन भेला भन्दा ठूलो केही नभएको समेत जिकिर गरे । उनले पार्टीको नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नहुने तर्क गर्दै त्यसले नेतृत्व परिवर्तन गर्न नसक्ने उनको दाबी छ । साथै यसअघिका कांग्रेसको नियमिति महाधिवेशनको मिति तय गर्ने काम महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा सँगै मिलेर गरेको बताउँदै आफ्नै निर्णयबाट नेताहरु भागेको समेत उनको आरोप छ । साथै आफैँले तोकेको मितिमा नियमित महाधिवेशन हुन नसकेको बताउँदै पुनः नयाँ मिति घोषणा गरेर विशेष महाधिवेशन गर्न उचित नहुने उनको तर्क छ ।

‘केन्द्रीय समितिले १५औँ महाधिवेशनको तिथिमिति उहाँहरु –महामन्त्री) कै सहभागितामा तोकेको हो । त्यसका बारेमा केन्द्रीय समितिमा उहाँहरुको प्रस्तुति के छ भने नयाँ मितिलाई हामीले स्वीकार गर्छौँ, स्वागत गर्छौँ भनिसक्नुभएको हो । किनकी दिइएको समयभित्र महाधिवेशन गर्न सकिन्न भनेर पुसको अन्तिममा २६,२७ र २८ गते तोकिएको महाधिवेशन स्थगित पनि उहाँहरु आफैँले गर्नुभएको हो । स्थगित गरिसकेपछि नयाँ मिति तोक्ने बैठकमा पनि उहाँहरु हुनुहुन्थ्यो । त्यसो हुँदा नियमित महाधिवेशन स्थगित भइसकेपछि उहाँहरुले बोलाउनुभएको भेला भन्दा ज्यादा हुन सक्दैन,’ उनले भने ।

यद्यपि नेता साउदले दुवै पक्षका वार्ता टोलीको वार्ता सकारात्मक भएको बताए । साथै संस्थापनको कुरा सुनेर नै विशेष महाधिवेशन पक्षधरले आफ्नो निर्वाचनको कार्यक्रम नै सारेको बताउँदै उनले दुवै पक्ष चलक भएको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?