दिउँसो साढे २ बजे अर्को बैठक बस्नेगरी कांग्रेसको त्रिपक्षीय बैठक सकियो, आ–आफ्नो समूहमा ब्रिफिङ गरिने

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज बिहानदेखि बसेको त्रिपक्षीय बैठक सकिएको छ । आजै दिउँसो अर्को बैठक बस्ने गरी बैठक टुंगाइएको हो ।

पार्टीमा सहमति खोज्नका लागि बिहानदेखि तीन पक्षका नेताहरू संवादमा जुटेका थिए ।

कांग्रेसभित्र एक पक्षले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनलाई स्विकार्न तयार भएको छैन । 

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले आज बिहानको बैठकमा विषय प्रवेश मात्रै भएको जानकारी गराए ।

‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौँ । उहाँहरूले सुन्नुभयो । एजेन्डागत रूपमा दिउँसो २ः३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ,’ उनले भने । 

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए । 

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर एक सदस्यका अनुसार सहमति गरेर जाने भन्नेमा दुवै पक्ष सहमत भएपनि कन्टेन्टमा सहमति भइसकेको छैन । 

‘सहमतिमा जान अधिकतम प्रयास गर्ने भन्ने भएको छ । दोस्रो चरणको वार्तामा बस्नुअघि यहाँ भएको छलफलको ब्रिफिङ गर्छौं’, ती नेताले भने, ‘उहाँहरूले पनि सभापतिसँग छलफल गर्छौं भन्नुभएको छ ।’

वार्ता चलिरहेको समयमा पनि भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

यही वार्ताका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?