थारू समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने

लोकपथ
49
Shares

काठमाडौं । थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।  

उनले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने जानकारी दिए । महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्‍याउने लक्ष्य राखेको समेत बताए । 

उनका अनुसार झाँकी र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृकित प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुति रहने उनले जानकारी दिए । महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् । थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउँदै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?